तेस्रो कुसुमे उँधौली फुटबल कप प्रतियोगिताको उपाधि चुलाचुलीले चुम्यो (फोटो फिचर)


केराबारी । तेस्रो कुसुमे उँधौली कप फुटबल प्रतियोगिताको उपाधि चुलाचुली फुटबल क्लब, झापाले हात पारेको छ । केराबारी गाउँपालिका वडा नं.९ मा अवस्थित कुसुमे खेल मैदानमा सुरु भएको प्रतियोगिताको शनिवारको फाइनल खेलमा २–० गोलको अन्तरले रोयल स्पोर्टिङ क्लब दमकलाई हराउँदै उपाधि हात पारेको हो ।

खेल सुरु भएको दुई मिनेटमा नै चुलाचुलीका जर्सी नं.१० का खेलाडी मिक्सन दासले पहिलो गोल गरे भने दोस्रो गोल दोस्रो हाफको १८ मिनेटमा गोल गर्दै उपाधि आफ्नो टिमलाई दिलाउन सफल भए । दासले दुई मिनेटमा नै पहिलो गोल गरेसँगै दबाबमा परेको रोयलले कुनै गोल फर्काउन सकेन ।

खेलको मेन अफ द म्याच मिक्सन दास घोषित भए । उनले नगद पुरस्कार रु.१ हजार ५ सय प्राप्त गरे । साथै दास प्रतियोगिताको सर्वाधिक गोलकर्ता पनि घोषित भएका छन् । उनले थप नगद पुरस्कार रु.२ हजार ५ सय पाएका छन् ।

विजेता टिमले ट्रफि, मेडल, प्रमाणपत्रसहित रु.७५ हजार नगद पुरस्कार र उपविजेताले ट्रफि, मेडल, प्रमाणपत्रसहित रु.४१ हजार प्राप्त गरेका छन् । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक चुलाचुलीका रोशन कार्की घोषित भएका छन् । उनले नगद पुरस्कार रु.२ हजार ५ सय प्राप्त गरेका छन् ।

वेस्ट डिफेन्डरमा चुलाचुलीका खेलाडी जगन खड्का, वेस्ट मीड फिल्डर रोयलका किस्मत लिम्बु, उदयमान खेलाडीमा आयोजक टिम कुसुमे साइनिङ क्लब केराबारीका योहाङ लिम्बु घोषित भएका छन् । उनीहरूले जनही रु.२ हजार ५ सय नगद पुरस्कार प्राप्त गरेका छन् । साथै चुलाचुलीका खेलाडी अजय मण्डल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीमा घोषित भएका छन् । उनले नगद पुरस्कार रु.५ हजार प्राप्त गरेका छन् ।

प्रतियोगिताको समापनमा संस्कृति नृत्य साथै झाकी प्रदर्शनी पनि भएको थियो । राईको साकेला, लिम्बुको च्याब्रुङ लगायतको संस्कृति नृत्य प्रदर्शनी गरिएको हो । कुसुमे साइनिङ क्लबको आयोजनामा मङ्सिर ३० गत्तेदेखि सुरु भएको खेल शनिवार सम्पन्न भएको छ । केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङको प्रमुख आतिथ्य र क्लबका अध्यक्ष भक्तसेर लिम्बुको अध्यक्षतामा प्रतियोगिता सम्पन्न भएको हो ।

फोटो – शिशिर राई

प्रतिक्रिया दिनुहोस्