सञ्चार विधेयक आगामी हिउँदे अधिवेशनमा पेस हुने छ : मुख्यमन्त्री हिक्मतकुमार कार्की


विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सञ्चार विधेयक आगामी हिउँदे अधिवेशनमा पेस हुने बताउनुभएको छ । विधेयकका सबै काम सकिएको भन्दै उहाँले आगामी अधिवेशनमा पेस गर्ने जानकारी दिनुभयो । आज कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कोशी प्रदेशका नवनिर्वाचित पत्रकार महासङ्घका पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै उहाँले पत्रकारका हक हितको संरक्षण र पत्रकारिताको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको विकास तथा समृद्धिको लागि कृषिमा आधारित उद्योग र पर्यटन नै मूल आधार रहेको भन्दै अब समृद्धिका लागि सबैले सहयोग गर्नु पर्ने बताउनुभयो । उहाँले कोशी प्रदेश सरकारले लगानी सम्मेलन गर्न लागेको भन्दै यसको लागि प्रचार प्रसार गर्न समेत आग्रह गर्नुभयो । उहाँले प्रदेश सरकारले चिया सम्मेलन र कोशी भ्रमण वर्ष २०८२ मनाउने तयारी गरिरहेको भन्दै सहयोगका लागि समेत आग्रह गर्नुभयो ।

अहिले विरोधका लागि विरोध गर्दै बन्द हडताल लगायतका विरोधका कार्य नगरी पर्यटक मैत्री वातावरण बनाउन समेत आग्रह गर्नुभयो । नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका नवनिर्वाचित कार्यसमिति, झापा, मोरङ, सुनसरी, धनकुटा र सोलुखुम्बु जिल्लाका नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई संयुक्त रूपमा बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरी मुख्यमन्त्री कार्कीले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको हो । कार्यक्रममा पत्रकार महासङ्घका निवर्तमान अध्यक्ष लिलाबल्लभ घिमिरे , अध्यक्ष भरत खड्का , सुशीला पाठक लगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्