काठमाडौं । सवारी ज्यान मुद्दामा चर्चित झाँक्री प्रकाश भुजेल पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत काठमाडौँका न्यायाधीश खेमराज भट्टको इजलासले आइतबार उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार सवारी ज्यानसम्बन्धी कसुरमा पक्राउ परेका उनलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
काठमाडौँको शंकरापुरमा गएको २८ कात्तिकमा भुजेलले चलाएको बा १९ प २६०५ नम्बरको कारले बागमती प्रदेश –०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा कागेश्वरी मनोहरा नगरपालिका–२ बस्ने ३८ वर्षीय नारायण नगरकोटी र उनकी पत्नी किसानुमाया नगरकोटी गम्भीर घाइते भएका थिए ।
दुवै जनाको ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । उनीहरूलाई तत्काल शंखरापुरस्थित अस्पताल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि ग्रान्डी अस्पताल लगिएको थियो । अस्पतालमा भोलिपल्ट दुवै जनाको मृत्यु भएको थियो । दुर्घटनापछि कार त्यहीँ छाडेर भागेका झाँक्रीपछि बौद्ध प्रहरी वृत्तमा उपस्थित भएका थिए। उनलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरेको थियो ।
तर दुवै जनाको ज्यान गएपछि पीडित परिवारले आर्थिक सहायताको माग गर्दै शव समेत बुझ्न मानेका थिएनन् । झाँक्रीले मृतकका परिवारलाई आर्थिक सहायता दिएपछि शव पोस्टमार्टम गरेर परिवारलाई बुझाइएको थियो । मृतक परिवारको तर्फबाट अनिल नगरकोटीले सवारी ज्यानसम्बन्धी कसुरमा जाहेरी दिएका थिए । अनुसन्धान सुरु भएको २५ औँ दिनमा झाँक्री भुजेललाई थुनामा पठाउने आदेश भएको हो । नगरकोटीका दुई जना बच्चा छन् ।