कानेपोखरी । कानेपोखरी गाउँपालिकाले व्यावसायिक पेसामा संलग्न अपाङ्गता भएका व्यक्तिहरूलाई सम्मान गरेको छ । मङ्गलवार कानेपोखरी गाउँपालिकाको कार्यालय भवनको प्राङ्गणमा ३३ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा कुनै पेसामा संलग्न भएका तथा व्यापार व्यवसाय सञ्चालन गरिरहनु भएका अपाङ्गता भएका व्यक्तिहरूलाई प्रमाणपत्र र नगदसहित दोसल्ला ओढाएर सम्मान गरेको हो ।
होटेल सञ्चालन गरी रहेकी कानेपोखरी वडा नं. ४ निवासी कविता चौधरी, किराना पसल सञ्चालक वडा नं.७ का कमल पाण्डे, वडा नं.६ का पूर्ण राई र वडा नं.३ का मित्र प्रसाद दाहाल सम्मानित भएका छन् । पूर्ण राईले मासु पसल सञ्चालन गरिरहेका छन् भने मित्र प्रसाद दाहाल शिक्षक पेसामा आबद्ध छन् । उनीहरूलाई कानेपोखरी गाउँपालिकाका अध्यक्ष राजमती इङ्गनाम साथै उपाध्यक्ष भोलाप्रसाद अधिकारीले सम्मान गरे ।
नव प्रगति संस्था ओपिडी, लुथरन सामुदायिक कल्याण समाजको समन्वय तथा सहयोगमा कानेपोखरी गाउँपालिका तथा महिला बालबालिका शाखाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम कानेपोखरी गाउँपालिका उपाध्यक्ष अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो ।