सुन्दरहरैँचा । खोर्साने सामुदायिक विकास केन्द्र सुन्दरहरैँचाद्वारा आयोजित स्व. दीपेश स्मृति चौथो सुकुना च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि आर.एफ.सी धरानले चुमेको छ । सुन्दरहरैँचा नगरपालिका वडा नं.१२ स्थित सुकुना खेलमैदानमा शनिवार भएको फाइनल खेलमा इन्ट्रा पथरीलाई २–० गोलको अन्तरले हराउँदै उपाधि हात पारेको हो ।
खेलको २१ मिनेटमा धरानका जर्सी नं.१३ का खेलाडी मिलन लिम्बुले पहिलो गोल गरेका थिए । पहिलो गोल भएसँगै दबाबमा रहेको पथरीले पहिलो हाफमै पुनः दोस्रो गोल खाए । दोस्रो गोल पनि धरानका खेलाडी मिलन लिम्बुले नै खेलको ३० मिनेटमा गरेका हुन ।
पहिलो हाफमा नै दुईको अग्रता रहेको धरानले पथरीलाई दोस्रो हाफमा गोल फर्काउने कुनै अवसर प्रदान गरेन । मिलनको गोल नै निर्णायक बन्न पुग्यो । र आफ्नो टिमलाई स्व. दीपेश स्मृति चौथो सुकुना च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि दिलाउन लिम्बु सफल भएको छ । खेलको मेन अफ दि म्याच धरानका जर्सी नं.६ का खेलाडी बिकूँ राई घोषित भएका छन् । राईले रु.२ हजार १ सय नगद पुरस्कार प्राप्त गरेका छन् ।
विजेता टिमले ट्रफी, मेटल, प्रमाणपत्रसहित नगद पुरस्कार १ लाख १ रुपैयाँ प्राप्त गरेका छन् भने उपविजेताले ट्रफी, मेटल, प्रमाणपत्रसहित नगद पुरस्कार ५० हजार १ रुपैयाँ प्राप्त गरेका छन् । उत्कृष्ट गोल रक्षकमा धरानका खेलाडी पूर्ण चेमजोङ, वेस्ट फरवार्ड तपन कार्की, सर्वाधिक गोलकर्ता मिलन लिम्बु, उत्कृष्ट प्रशिक्षक मनिस तामाङ घोषित भएका छन् । उनीहरूले जनही नगद पुरस्कार रु.५ हजार प्राप्त गरेका छन् ।
साथै मेन अफ द सिरिज धरानका टिम क्याप्टेन दोर्जे तामाङ घोषित भएका छन् । वेस्ट डिफेन्डर पथरीका मीन धिमाल, मीड फिल्डर सञ्जय लिम्बु घोषित भएका छन् । दुवैले नगद पुरस्कार रु.५ हजार प्राप्त गरेका छन् । त्यसै गरी उदयमान खेलाडीमा सुकुनाका यायाहाङ राई घोषित भएका छन् । राईले पनि नगद पुरस्कार रु.५ हजार प्राप्त गरेका छन् ।
फोटो फिचर – शिशिर राई