बेलबारी । सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा बेलबारी नगरपालिकासहित ५ पालिकाका प्रमुख तथा अध्यक्ष सम्मानित भएका छन् । काठमाडौँमा मङ्गलवार नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)द्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री साथै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ५ पालिकाका प्रमुख तथा अध्यक्षलाई सम्मान गरेका हुन ।
सम्मानित हुनेमा फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदी, भीमफेदी गाउँपालिकाका अध्यक्ष हृदम लामा, बाँसगढी नगरपालिकाका प्रमुख खड्गबहादुर खड्का, बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई, सुन्दरहरैचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईँ रहेका छन् ।
प्रधानमन्त्री ओलीले कार्यक्रमलाई सम्बोधन गर्दै सम्मानित नगर प्रमुख तथा गाउँपालिका अध्यक्षहरूलाई बधाई दिएका छन् । २०७५ साल मङ्सिर ११ गते हामीले थालनी गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा हालसम्म १७ लाख, ९७ हजार, ६४० जना श्रमिकहरू आबद्ध हुनु भएकोमा रोजगारीबाट अवकाश पाउनेले पेन्सन पाईरहनुको ओलीले बताए । साथै बिरामी र दुर्घटनामा सामाजिक सुरक्षा कोषबाटै उपचार पाइरहेको ओलीले बताए ।
उनले भने, ‘योगदानमा आधारित सामाजिक सुरक्षा कोष सुरु गर्दा हामीले नयाँ युगको सुरुवात भनेका थियौँ । त्यस बेला सरकार प्रमुखको रूपमा मीमहरू बनाएर आफूलाई व्यङ्ग्यात्मक ट्रोल गरेको सम्झिँदा अहिले रमाइलो नै लागेको छ । सामाजिक सुरक्षाको क्षेत्रलाई अझ फराकिलो बनाउँदै हामीले वैदेशिक रोजगारीमा गएका मजदुरहरूलाई पनि समावेश गरेर देशका ६० लाख मजदुरलाई रोजगारी र सामाजिक सुरक्षामा समेट्ने लक्ष्य लिएका छौँ ।’
स्वदेशमै सामाजिक सुरक्षाको ग्यारेन्टी भएपछि श्रम गर्न विदेश जाने बाध्यता पनि कम हुँदै जाने ओली बताउँछन् । यो कोषको स्थापना भएपछि उद्योगहरूमा तलब र अन्य सुविधाका लागि हुने हड्तालहरु ६ वर्षदेखि बन्द भएको साथै औद्योगिक शान्ति कायम भएको पनि प्रधानमन्त्री ओलीले बताए ।