बेलबारी । बेलबारी नगरपालिकाले विज्ञान विषयमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृद्धी प्रदान गर्ने भएको छ । बेलबारी नगरपालिका वडा नं.१० मा रहेको धीरनाथ संफूल विश्वास मा.विमा विज्ञान विषयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई ५० प्रतिशत नगरपालिकाले बेहोर्ने गरी छात्रवृत्ति प्रदान गर्ने भएको हो ।
बेलबारी नगरपालिकाले अघिल्लो शैक्षिक सत्रदेखि बेलबारी भित्र सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीहरूको लागि विशेष छात्रवृत्ति कार्यक्रम सुरु गरेको थियो । यसै कार्यक्रम अन्तरगत विज्ञान विषयमा अध्ययनरत विद्यार्थीहरूलाई नगरपालिकाले ५० प्रतिशत छुट प्रदान गर्दै छ । अहिले बेलबारीमा धीरनाथ संफूल विश्वास मा.विमा मात्र ११ र १२ कक्षामा विज्ञान विषय अध्यायपन भइरहेको छ ।
बेलबारी नगरपालिकाका प्रमुख दिल प्रसाद राईका अनुसार विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीहरूलाई हौसला प्रदान गर्नुको साथै विज्ञान विषयमा अध्ययन गर्न सबै वर्गका परिवारका छोराछोरीहरूको पहुँच पुराउन सहयोग गर्ने उद्देश्यले छात्रवृत्ति कार्यक्रम सञ्चालित छ । बेलबारी नगरपालिकाले शिक्षा क्षेत्रमा सुधार तथा गुणस्तर शिक्षा प्रदान गर्ने उद्देश्यले प्राथमिकताका साथ लगानी गरिरहेको छ । विज्ञान विषय पढ्न आर्थिक अभावकै कारण कोही बालबालिका वञ्चित नहुन भन्ने छात्रवृत्ति कार्यक्रमको उद्देश्य रहेको छ ।
छात्रवृत्ति कार्यक्रमसँगै गणित र विज्ञान विषयमा कोचिङ कक्षा पनि सञ्चालन गरिरहेको छ । गणित र विज्ञान विषयमा अलि कमजोर परीक्षाको परिणाम देखिएकोले विद्यार्थीहरूको पढाइमा थप सुधार र सहयोग पुराउने उद्देश्यले कोचिङ कक्षा सञ्चालन गरेको राईले जनाएका छन् । राईका अनुसार बेलबारी भित्रका सबै १० कक्षासम्म अध्ययन अध्यायपन हुने सामुदायिक विद्यालयमा कक्षा ८ मा पढाउने शिक्षकलाई रु.५ हजार र १० मा पढाउनेलाई रु.६ हजार प्रदान गरेर कोचिङ सञ्चालनमा छ ।
शिक्षकहरूले दिनको एक घण्टा अनिवार्य र २५ दिन पुरा भए पछि मात्र एक महिना मान्य हुने गरी कोचिङ सञ्चालन भइरहेको राईले बताएका छन् । गणित र विज्ञान विषयमा विद्यार्थीको पढाई सुधार नभएसम्म कोचिङ कक्षा निरन्तर रहने राईले बताए । शिक्षा क्षेत्रको विकासको लागि आर्थिक अभाव छदै छ तर हालसम्मको विकासको अवस्थामा पनि सुधार गर्नु पक्ष धेरै रहेको छ । उक्त सुधार गर्नु पर्ने पक्षमा नगरपालिकाको तर्फबाट कुनै कन्जुसलाई नहुने राई बताउँछन् । स्रोतको अधिकतम परिचालन गरेर गुणस्तर शिक्षा प्रदान गर्नु स्थानीय सरकारको प्रमुख प्राथमिकता रहेको राईले बताए ।