अपचार खर्चको अभावमा गोविन्दलाई श्रीमतीको शव पाउन १५ दिन लाग्यो


बेलबारी । मोरङको बेलबारी निवासी गोविन्द मगरले उपचार खर्च अस्पताललाई भुक्तानी गर्न नसक्दा १५ दिन श्रीमतीको शव ल्याउन सकेका थिएनन् । १५ दिन पछि गोविन्दले बेलबारी नगरपालिका र वडा कार्यालयको सहयोगमा शव ल्याई दाहसंस्कार गरेका छन् ।

गोविन्दको श्रीमती सबिना मगरको तिहारको लक्ष्मी पूजाको दिन विराटनगरस्थित विराट नर्सिङ होममा उपचारको क्रममा निधन भएको थियो । उपचार खर्च जुटाउन नसक्दा गाउँघर झिलिमिली भए पनि गोविन्दको जीवन भने अन्धकार थियो । त्यस माथि आर्थिक अभावमा श्रीमतीको शव नपाउनुको पिडा झन् कठिन बनेको थियो ।

नगरपालिका कार्यालय, स्थानीयहरूको पटक-पटक पहल र आग्रहसँगै कार्तिक ३० गते बेलबारी ६ का अध्यक्ष टेक बहादुर राईको नेतृत्वमा विराट नर्सिङ होम पुगेर सबिनाको शव फर्काइएको हो । अध्यक्ष राईका अनुसार नगरपालिका कार्यालय, वडा कार्यालय, स्थानीय, क्रिस्चन समुदायको धार्मिक संस्थाको सहयोगसँगै अस्पतालले पनि छुट गरे पछि मात्र उपचार खर्च तिर्न सम्भव भएको हो । यस क्रममा राईले केही आरोप खेप्नु परेको बताए । विभिन्न आरोप आए पनि वडा कार्यालय र नगरपालिकाले मगर परिवारलाई पूर्ण सहयोग गरेको अध्यक्ष राई बताउँछन् ।

विराट नर्सिङ होमले सबिनाको शव उपचार भुक्तानी गर्न नसक्नुको साथै जिम्मेवार संस्था वा व्यक्तिको अभावको कारण सहजै दिन नसकेको जनाएको छ । उपचारको हरेक चरणमा सविनाको परिवारसँग छलफल गरेरै उपचार गरेको विराट नर्सिङ होमका लेखा प्रमुख सुवास पोखरेल बताउँछन् । पोखरेका अनुसार करिब ७ लाख भन्दा बढी उपचार खर्च भुक्तानी गर्न बाकी रहेको थियो ।

कार्तिक ३ गते एक धार्मिक कार्यक्रममा खाना पकाउने क्रममा प्रेसर कुकर पड्किएर सबिना गम्भीर घाइते भएकी थिइन । सबिनाको निधारमा गम्भीर चोट लागे पछि उपचारको लागि उनलाई अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्