बेलबारीको एकै वडामा शृङ्खलाबद्ध चोरी : एकै रात ४ घरमा चोरी 


बेलबारी । बेलबारीको एकै वडामा शृङ्खलाबद्ध चोरी भएको छ । बेलबारी नगरपालिका वडा नं.२ मा ४ घर एकै पटक चोरी भएको छ ।

बेलबारी २ निवासी लोकतान्त्रिक मार्गका इन्द्र राई, सङ्गीता मगर, थापा चौकका सुरज थापा, लक्ष्मी चौकका विश्वदीप राईको घरमा चोरी भएको छ । अधिकांश चोरी कोही नभएको दाउ पारी कार्तिक २४ गते राती भएको सम्बन्धित पीडितहरू बताउँछन् ।

इन्द्र राईको पहिलो तालाको घरको झ्याल र डोकाका फोडी, दोस्रो ताला प्रवेश गर्ने फलामे गेटको ताला तोडी ५ तोला सुन र १५ हजार नगद चोरी गरेको छ । चितुवान, पोखरा घुम्न गएको बेला घरमा कोही नभएको दाउपारि चोरी भएको स्वयम राईले जनाए । राईका अनुसार घुमेर फर्कँदा घरमा झ्याल, डोका फोडिएको, कोठाको सबै सामान छरपस्ट भएको अवस्थामा भेटिएका थिए ।

सङ्गीता मगरको घरबाट ११ तोला चाँदी, आदी तोला सुन र रु.९ हजार चोरी भएको स्वयम उनले बताइन । उनी माइता गएकी बेला कोही नभएको दाउपारि कार्तिक २४ गते शनिवारको राती घरमा चोरी भएको सङ्गीता बताउँछिन् । सङ्गीताको श्रीमान् यम बहादुर मगर सशस्त्र प्रहरीमा कार्यरत छन् ।

सुरज थापाको घरमा भएको चोरी पनि सोही प्रकृतिको छ । थापा परिवार भोजपुर गुम्न भएको बेला रु.१५ हजार, दुई वटा स्मार्ट घडी कार्तिक २४ गते शनिवार चोरी भएको बेलबारी नगरपालिका वडा नं.२ का अध्यक्ष कृष्ण गुरुङले जनकारी दिएका छन् ।

विश्वदीप राईको घरमा भने दुई पटक चोरी भइसकेको छ । गत वर्ष मङ्सिरमा साढे ४ तोला सुन, ५५ वटा कासोको थाल र पुरानो पैसाहरू चोरी भएको राई परिवारले जनाए । यस पटक भने खुत्रुकेमा भएको रकम, कोरियाबाट ल्याएको हातमा लगाउने घडी र एउटा खुकुरी चोरी भएको विश्वदीपका श्रीमती सारा राईले बताइन ।

राईको घरमा पनि कार्तिक २४ गते शनिवार राती नै चोरी भएको हो । साराका अनुसार २४ गते दिउसो आफन्तको घरमा भेटघाटको लागि गएका थिए । २४ गते आफन्तकोमै बसे, र २५ गते फर्कँदा घरमा सबै सरसामानहरू लथालिङ्ग रहेको भेटिएको राई परिवार बताउँछन् ।

विश्वदीप दक्षिण कोरियामा वैदेशिक रोजगारमा कार्यरत छन् । उनी छुट्टी आएका हुन । बर्षेनी चोरीको घटनाले विश्वदीप र उनको परिवारलाई त्रसित बनाएको छ । चोरीसँगै मानवीय क्षति नै हुने गरी अन्य घटना घट्ने हो कि, भन्ने त्रासले राई परिवारलाई चिन्तित बनाएको छ ।

एक महिना अघि पनि शन्तिी चौकका किरण राईको पल्सर बाइक चोरी भएको वडाध्यक्ष गुरुङ बताउँछन् । शान्ति सुरक्षाको लागि सामूहिक रूपमा वडा कार्यालय, स्थानीय नागरिक र प्रहरी मिलेर समाधान गर्नु पर्ने गुरुङ बताउँछन् ।

वडा कार्यालयले टोल विकास संस्थासँग मिलेर रात्रिकालीन गस्ती पनि गरिरहेको उनले जनाए । सक्रिय टोल विकास संस्थाले निरन्तर रात्रिकालीन गस्ती गरिरहेको टोलहरूमा चोरीको घटना अहिले नघटेको तर रात्रिकालीन गस्तीमा सक्रिय नभएको टोलमा भने उक्त घटनाहरू घटेको देखिएको गुरुङ बताउँछन् । तसर्थ रात्रिकालीन गस्तीमा सक्रिय हुन टोल विकास संस्थालाई पनि आग्रह गरेका छन् । गुरुङले प्रहरीसँगै स्थानीय नागरिक जनशक्ति परिचालनको लागि वडा कार्यालयले सबै आवश्यक सहयोग गर्ने बताएका छन् ।

चोरीको घटना हुन नदिनु बेलबारी २ वडा कार्यालयले सञ्चालन गरेको रात्रिकालीन गस्ती कार्यक्रमलाई सबै टोल विकास संस्थाले सक्रिय बनाउन बेलबारी नगरपालिकाका प्रमुख दिल प्रसाद राईले पनि आग्रह गरेका छन् । बेलबारी २ को रात्रिकालीन गस्ती अन्य वडाले पनि सञ्चालन गर्न उपयुक्त हुने राईले बताए । बेलबारी २ मा चोरी भएको घरहरूमा अवलोकन गरेर घटना प्रति गम्भीर रहेको र प्रहरीलाई थप ध्यानाकर्षण गराउने राईले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्