नेकपा एमाले शिक्षा तथा मानवस्रोत विभाग मोरङको शैक्षिक गोष्ठी सम्पन्न


मोरङ । नेकपा (एमाले), मोरङको शिक्षा तथा मानवस्रोत विभागले सामुदायिक विद्यालय तथा क्याम्पसको थप शैक्षिक उन्नयनका बारेमा एक दिने शैक्षिक गोष्ठी सम्पन्न गरेको छ । शनिवार विराटनगरको नेकपा मोरङको पार्टी कार्यालय भवनको सभाहलमा ‘समृद्ध नेपाल, सुखी नेपालीको मुख्य आधार; सामुदायिक विद्यालय तथा क्याम्पसको सुधार’ भन्ने मूल नाराका साथ शैक्षिक गोष्ठी सम्पन्न भएको हो ।

विद्यालय तहका लागि नेपाल राष्ट्रिय शिक्षा सङ्गठनका कोशी प्रदेश इन्चार्ज धर्मानन्द खरेलले ‘सामुदायिक विद्यालयको शैक्षिक सुधार; सर्वाङ्गीण विकासको मूल आधार’ शीर्षकमा कार्यपत्र प्रस्तुत गरे भने नेपाल नगरपालिका सङ्घ, कोशी प्रदेश संयोजक बेलबारी नगरपालिकाका नगर प्रमुख दिलप्रसाद राईले टिप्पणी गरेका थिए । त्यसै गरी सामुदायिक क्याम्पसका बारेमा उपप्राध्यापक एन.पी. भण्डारीले कार्यपत्र प्रस्तुत गरे । र सुकुना बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख सहप्राध्यापक गणेशप्रसाद दहालले टिप्पणी गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा (एमाले)का उपाध्यक्ष गुरु बरालले विद्यालय र क्याम्पसको अन्तरसम्बन्धबारेमा कार्यपत्र प्रस्तुत गरे । बरालले विद्यालय तहको सुधारका लागि पूर्व प्राथमिक र आधारभूत तहदेखि नै ध्यान दिनुपर्ने तथा विदेशिने विद्यार्थीहरूलाई रोक्न शैक्षिक ऋण र रोजगारीको सुनिश्चितता गर्नुपर्ने सुझाव राखे । उनले आठ जना सहभागीहरूबाट कार्यपत्रहरू र टिप्पणीहरूमाथि पनि टिप्पणी गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै एमाले केन्द्रीय सल्लाहकार विनोद ढकाल र जिल्ला अध्यक्ष बाबुराम कार्कीले सामुदायिक विद्यालय र क्याम्पसको शैक्षिक सुधारमा बढी जोड दिनु पर्ने आवश्यकता रहेको बताउँदै, गोष्ठीमा उपस्थित शिक्षकहरूलाई आग्रह पनि गरेका छन् । कार्यक्रममा एमाले केन्द्रीय सदस्यहरू जीवन घिमिरे र युवराज बास्कोटा, कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, कोशी प्रदेश सदस्य ज्ञानेन्द्र सुवेदी, सुकुना क्याम्पस प्रमुख अर्जुनराज अधिकारी, शिक्षक नेताहरू नन्दराज गिरी, दिनेश श्रेष्ठ, शान्ति लिम्बू लगायतको उपस्थिति रहको थियो ।

कार्यक्रमको अध्यक्षता विभागका प्रमुख ईरानराई, सञ्चालन विभागकी सदस्य तथा लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौला र स्वागत मन्तव्य तथा कार्यक्रममाथि प्रकाश विभागकी सदस्य तथा जिल्ला समन्वय समिति, मोरङकी उपप्रमुख उषा झाले गरेका थिइन ।

प्रतिक्रिया दिनुहोस्