काठमाडौं । नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । आज (आइतबार) दशरथ रङ्गशालालाई भएको सेमिफाइनल खेलमा टाई-ब्रेकरमा भारतलाई ४-२ गोलको अन्तरले हराउँदै नेपाल फाइनल प्रवेश गरेको हो ।
निर्धारित समय १–१ गोलको बराबरीमा सकिए पछि टाई-ब्रेकर भएको थियो । टाई-ब्रेकरमा भारतको तर्फबाट भएको दुई पटकको प्रहार नेपालका गोल किप्पर अञ्जना राना मगरले रोक्न सफल भएसँगै ४-२ गोल अन्तरले नेपाल फाइनलमा प्रवेश गर्न सफल भएको हो ।
नेपालको जितमा सावित्रा भण्डारी ‘साम्बा’, गीता राना, सविता रानामगर, अमिसा कार्कीको प्रहार गोलमा परिणत भयो । भारतकी मनीषा, के पुरुषोत्तमको प्रहार सफल हुँदा कप्तान आसालता र रञ्जना चानुको पेनाल्टी प्रहारमा चुके ।
नेपालले अब उपाधिका लागि बंगालदेशसँग भिड्नेछ। आजै भएको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ७–१ गोल अन्तरले हराउँदै फाइनलमा पुगेको थियो ।