सातौँ बेलबारी आरजु राईस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको विजेता झापा ११


बेलबारी । आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको सातौँ संस्करणको उपाधि झापा ११ फुटबल क्लबले जितेको छ । शनिवार मोरङको बेलबारी–११ स्थित लक्ष्मी खेलमैदानमा भएको फाइनल खेलमासलहेस फुटबल क्लब सिराहालाई टाइब्रेकरमा ५–३ गोल अन्तरले हराउँदै झापाले उपाधि रक्षा गरेको हो ।

उपाधिसँगै झापा ११ ले ८ लाख नगद सहित अढाई किलो चाँदीमा दुई तोला सुन जडित ट्रफि जितेको छ । यस्तै उप विजेता सलहेस फुटबल क्लब सिराहाले चार लाख नगद सहित ट्रफि प्राप्त गरेको छ । पाँच पाँच खेलाडीले टाइब्रेकर प्रहार गर्दा झापा ११ का पाँचै खेलाडीले गोल गरेका थिए । दिनेश उराव,अभिषेक गुरुङ, सौरभ लिम्बू,उत्सव राई र देवेन्द्र तामाङले झापाको जितको लागि गोल गरे । सलहेश फुटबल क्लब सिराहाका राम थापा ,आदित्य शाक्य र विप्लव गुरुङले गोल गर्दा समीर तामाङको प्रहार झापाका गोल रक्षक सन्दीप लिम्बूले बचाए । समीरको प्रहार सन्दीपले बचाएपछि सलहेश एउटा प्रहार नगर्दै पराजित भयो ।

यसअघि गोल रहित बराबरीमा मध्यान्तर अघिको ४५ मिनेट सकिएको थियो । ५० औँ मिनेटमा सलहेश फुटबल क्लब सिराहाका अजयी मार्टिनले हेडिङ मार्फत गोल गर्दै टिमलाई १–० को अग्रता दिलाए । ७१ औँ मिनेटमा झापाका प्रदीप बुढाथोकी जवाफी गोल गर्दै खेल बराबरीमा पु¥याएका थिए । १–१ गोलको बराबरी पछि हेर्न लायक भएको फाइनल प्रतिस्पर्धा निर्धारित ९० मिनेटमा थप कुनै गोल नभई टुङ्गियो । त्यसपछि खेलको अन्तिम निर्णय सिँधै टाइब्रेकरबाट गरिएको हो ।

फाइनल खेलको म्यान अफ द म्याच अभिषेक गुरुङ घोषित भए । उनले नगद ५ हजार सहित ट्रफि प्राप्त गरे । यस्तै झापाका सन्दीप लिम्बू उत्कृष्ट गोल रक्षक,उत्सव राई उत्कृष्ट मीड फिल्डर,सन्तोष गुरुङ उत्कृष्ट कोच र देवेन्द्र तामाङ सर्वश्रेष्ठ खेलाडी घोषित भए । तामाङले १० हजार नगद सहित ट्रफि र अरू खेलाडीले जनही ७ हजार नगद र ट्रफि प्राप्त गरे । यस्तै सलहेश फुटबल क्लबका अजयी मार्टिनले सर्वाधिक गोलकर्ताको उपाधि प्राप्त गरे । उनले खेल अवधिमा पाँच गोल गरेका थिए । सलहेशका समीर तामाङले उत्कृष्ट फरर्वाडको उपाधिसँगै ७ हजार नगद र ट्रफि प्राप्त गरे ।

विजयी टिमका खेलाडीलाई कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राई, कोशी प्रदेशका सांसदहरू ज्ञानेन्द्र सुबेदी र मानबहादुर लिम्बू, बेलबारी नगरपालिकाका नगर प्रमुख दिलप्रसाद राई र एन्फाका कोशी प्रदेश अध्यक्ष किशोर राई लगायतले ट्रफि,प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगिता एलएक्ससिटी फुटबल क्लब बेलबारी–११ ले कात्तिक २ गते देखि आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस्