सलहेश फुटबल क्लब फाइनलमा प्रवेश : शनिवार उपाधिका लागि झापा ११ सँग भिड्दै


बेलबारी । काठमाडौं लिग विजेता चित्लाङ फुटबल क्लबलाई ५–१ गोलको फराकिलो अन्तरले हराउँदै सलहेस फुटबल क्लब सिराहा मोरङको बेलबारीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण सातौँ आरजु राइस बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सलहेश फुटबल क्लबको शनिवार हुने फाइनलमा झापा–११ फुटबल क्लबसँग भेट पक्का भएको छ ।

बेलबारी ११ को लक्ष्मी खेल मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा अग्रता भने चित्लाङ फुटबल क्लबले चौथो मिनेटमा गरेको थियो । चित्लाङका समन धिमालले सलहेशका चार खेलाडी बिट गर्दै निकालेको पासलाई हेनरीले गोल गर्दै अग्रता दिलाएका थिए । तर, चित्लाङको अग्रता मध्यान्तर सम्म पनि टिक्न सकेन । सलहेस क्लबको जितका लागि अजयी मार्टिनले ह्याट्रिक पुरा गरे । थप दुई गोल आदित्य शाक्यको नाममा रह्यो ।

अजयी मार्टिन खेलको ६८ औँ, ८६ औँ र दोस्रो हाफ पछिको अतिरिक्त समयमा गोल गरेर बेलबारी गोल्डकपमा पहिलो ह्याट्रिक गर्ने खेलाडी बने । आदित्य शाक्यले टिमका लागि पहिलो हाफको अतिरिक्त समयमा र ७८ औँ मिनेटमा गोल गरे । मध्यान्तर अघिको अतिरिक्त समयमा चित्लाङ विरुद्ध आदित्य शाक्यले १ गोल गरेपछि सलहेश खेल फर्किएको थियो । मध्यान्तरपछि एकपक्षीय खेल खेलेको सलहेसले चित्लाङलाई दबाबमा राखेको थियो ।

शुक्रवार दुवै टिमले चार/चार जना विदेशी खेलाडी मैदानमा उतारेका थिए । आजको खेलमा ह्याट्रिक गर्ने सलहेस फुटबल क्लबका अजयी मार्टिन म्यान अफ द म्याच घोषित भए । उनलाई कोशी प्रदेश सरकारका उद्योग ,कृषि तथा सहकारी मन्त्री खगेन्द्रसिंह हाङगामले नगद ५ हजार सहित म्यान अफ द म्याचको ट्रफि प्रदान गरे ।

शनिवार हुने फाइनल खेलमा सलहेसले झापा ११ फुटबल क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । पहिलो पटक १० वटा टिमले प्रतिस्पर्धा गरेको बेलबारी गोल्डकपका विजेताले अढाई किलो चाँदीमा २ तोला सुन जडित ट्रफि सहित नगद आठ लाख रुपियाँ र उप विजेताले चार लाख नगद र ट्रफि प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्