बुटवल लुम्बिनी सेमिफाइनलमा प्रवेश : डिफेन्डिङ च्याम्पियन ब्रिगेड ब्वाइज गाेल्डकपबाट बाहिरियो


बेलबारी । डिफेन्डिङ च्याम्पियन ब्रिगेड ब्वाईज ललितपुर बेलबारी गाेल्डकपकाे उपाधि यात्राबाट बाहिरिएको छ । सुरुवाती गोलको अग्रता जोगाउन नसक्दा बुटवल लुम्बिनी फुटबल क्लबसँग २-१ गोलले पराजित हुँदै ब्रिगेड उपाधि यात्राबाट बाहिरिएको हो ।

आजको जितसँगै बेलबारी गाेल्डकपमा पहिलो पटक सहभागी भएको बुटवल लुम्बिनी सेमिफाइनलमा प्रवेश गरेको छ । बेलबारी ११ को लक्ष्मी खेलमैदानमा मङ्गलवार भएको खेलमा ब्रिगेड ब्वाइज क्लबका सुजन ढङ्गाेलले २० औँ मिनेटमा गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए ।

कप्तान एन्जल महर्जनको पासमा सुजनले गोल गरेका हुन् । चार जना विदेशी खेलाडी लिएर मैदान उत्रिएको बुटवल लुम्बिनी फुटबल क्लबले मध्यान्तर अघिसम्म बल होल्ड गरे पनि स्कोर गर्न सकेन ।बिग्रेडका रक्षा पङ्क्तिका खेलाडीहरू दिवाकर चौधरी ,कोमल खवास र पदम भट्टराईले पटक पटक टिमलाई गोल खानबाट जोगाए ।

खेलको ५१ औँ मिनेटमा बुटवल लुम्बिनीका खेलाडी एरिक विष्टलाई डिबक्स भित्र ट्याकल गरेपछि बुटवल लुम्बिनी फुटबल क्लबले पेनाल्टी प्रहारको अवसर पायो । एरिक विष्टले प्रहार गरेको पेनाल्टी प्रहार गोलमा परिणत भएपछि खेल १-१ गोलको बराबरीमा पुग्यो । ६२ औँ मिनेटमा बुटवल लुम्बिनीका ग्लाेरीले उत्कृष्ट गोल गरे ।मैदानको मध्यभागबाट रिचर्डले दिएको पासलाई ग्लाेरीले जाली चुमाएका हुन् ।

मङ्गलवारको खेलमा बुटवल लुम्बिनी फुटबल क्लबका एरिक विष्ट म्यान अफ द म्याच घोषित भए । उनलाई काेशी प्रदेशका सांसद मानबहादुर लिम्बूले नगद ५ हजार र ट्रफि प्रदान गरे । सातौँ बेलबारी आरजु राइस गोल्डकप फुटबल प्रतियोगिता अन्तरगत बुधवार अन्तिम क्वाटरफाइनल खेल सलहेस फुटबल क्लब सिराहा र भारतको दलसिंहपारा फुटबल क्लब बिच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताका विजेताले ८ लाख नगद र गोल्ड कप र उप विजेताले ५ लाख नगद र ट्रफि सहित प्रमाण पत्र र मेडल पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्