झापा ११ सेमिफाइनलमा प्रवेश


बेलबारी । झापा ११ फुटबल क्लब ,भोजपुर फुटबल क्लबलाई ३–० ले हराउँदै बेलबारीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण सातौँ बेलबारी आरजु राइस गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । झापाकाे जितका लागि नीरज कार्कीले १ गोल र प्रदीप बुढाथोकीले २ गोल गरे ।

खेल सुरु भएको पहिलो मिनेटमै झापाका नीरज कार्कीले भोजपुर विरुद्ध गोल गरे । नीरजले पाेष्टमा प्रहार गरेको बल भोजपुरका खेलाडी सञ्जय लिम्बूले गाेललाइनबाट ब्याक पास गरेका थिए । तर, उक्त बललाई नीरजले नियन्त्रणमा लिई सिँधै गाेलपाेष्टकाे जाली चुमाए । मध्यान्तर अघि १-० ले अग्रता कायम गरेको झापाले ७५ ओं मिनेटमा १ गोल थप्यो ।

झापाका प्रदीप बुढाथोकीले मैदानको मध्य भागबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो । अतिरिक्त समयमा झापाका प्रदीप बुढाथोकीले थप १ गोल गर्दै टिमको सेमिफाइनल यात्रा तय गराएका थिए । आइतबारको खेलमा झापाका नीरज कार्की म्यान अफ द म्याच घोषित भए । उनलाई शिवसतासी नगरपालिका झापाका नगर प्रमुख रोशन थाेप्राले नगद ५ हजार र ट्रफि प्रदान गरे ।

सोमबार चित्लाङ फुटबल क्लब काठमाडौं र राजारानी फुटबल क्लब धनकुटा बिच खेल हुनेछ । प्रतियोगिताका विजेताले ८ लाख नगद र गोल्ड कप र उप विजेताले ५ लाख नगद र ट्रफि सहित प्रमाण पत्र र मेडल पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्