कानेपोखरी गाउँपालिकामा लागूऔषध विरुद्ध बृहत् अभियान सुरु हुने


कानेपोखरी । कानेपोखरी गाउँपालिकाकी अध्यक्ष राजमती ईङ्कनामले लागू औषध विरुद्ध पालिकाको बृहत् अभियान सुरु गर्ने बताएकी छिन । शनिवार दिगोपन सामाजिक उद्यमी महिला सहकारी संस्थाको साधारणसभालाई सम्बोधन गर्दै लागू औषध विरुद्ध पालिकाको बृहत् अभियान कार्यक्रम चाडै गर्ने अध्यक्ष ईङ्कनामले बताएकी हुन ।

चुनावी साधारणसभाको पहिलो सत्रमा कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष ईङ्कनामले शुभकामना प्रदान गर्दै, वर्तमान अवस्थामा बालबालिकाहरू लागूऔषधमा फसिरहेकाले त्यसको न्यूनीकरणको लागि हरेक अभिभावकले आफ्नो नानीहरूको ध्यान राख्न आग्रह गरेकी छिन । साथै लागू औषध विरुद्धको अभियानमा सहयोग गर्न आग्रह पनि गरेकी छिन ।

ईङ्कनामले भनिन, ‘बालीनाली अर्काको राम्रो, छोराछोरी आफ्नो राम्रो भन्ने चलन छ । त्यस कारण पनि हाम्रो नजरबाट नानीहरू उम्किएर लागूपदार्थको लतमा फसिरहेको छन् । यस विरुद्ध पालिकाले अभियान नै सञ्चालन गर्न लागेकाले सबै आमा दिदीबहिनीहरूलाई साथ र सहयोगको अपिल गर्दछु ।’

उनले रमाइलो क्याम्पसमा सासूको इच्छा बुहारीलाई शिक्षा कार्यक्रम सञ्चालनमा रहेकाले आफ्ना बुहारीहरूलाई पढाउन अनुरोध पनि गरिन । पालिकाले महिलालाई उद्यमी र स्वरोजगार बनाउन समय अनुकूल धेरै तालिम दिएको र हाल पनि ब्युटिसियन तालिम सञ्चालनमा रहेको जानकारी दिइन ।

सहकारी ऐन पारित भई राजपत्रमा आउन लागेको जानकारी दिँदै पालिकाले गरेको अनुगमन र डकुमेन्ट विषयमा आनाकानी वा नकारात्मक टिका टिप्पणी नगर्न पनि ईङ्कनामले आग्रह गरेकी छिन । राष्ट्रका रूपमा सहकारीमा समस्या भएता पनि कानेपोखरी गाउँपालिकामा विकृति फैलनबाट रोकथाम गर्न सफल नै रहेकोले थप व्यवस्थित गर्ने विषयमा सहयोग गर्न सबैलाई ईङ्कनामले आग्रह गरिन ।

यस्तै पालिकाले नेपालको संविधानले व्यवस्था गरेको मौलिक हकको धारा ३७ मा टेकेर आवास विहीनलाई आवास दिलाएको बताउँदै, कानेपोखरीमा घर विहीन करिब १५० परिवारलाई सुरक्षित आवास दिलाएको जनाएकी छिन । भौतिक पुर्वधार विकासलाई पनि पालिकाले उतिकै प्राथमिकतामा राखेर काम गरिरहेको ईङ्कनामले बताइन ।

प्रतिक्रिया दिनुहोस्