‘हनि ट्रयाप’ गिरोहसँग मिलेर पैसा असुलेको आरोपमा इन्स्पेक्टर बिनुकुमारी शाही निलम्बित


काठमाडौं । ‘हनि ट्रयाप’ गिरोहसँग मिलेर पैसा असुलेको आरोपमा छानबिनमा रहेकी इन्स्पेक्टर बिनुकुमारी शाही निलम्बित भएकी छन् । प्रहरी प्रधान कार्यालयको सिफारिसका आधारमा आज (शुक्रवार) गृह मन्त्रालयले उनलाई निलम्बन गरेको हो ।

प्रहरी प्रभाग भैंसेपाटीको प्रमुख रहँदा उनले गत ७ असोजमा एक व्यवसायीलाई पक्राउ गरेकी थिइन् ।  बलात्कार मुद्दामा फसाई दिने भन्दै बार्गेनिङ गरेर ३० लाख रुपैयाँ लेनदेन गरी छाडिएको प्रारम्भिक छानबिनमा खुलेपछि उनलाई त्यहाँबाट हटाएर निलम्बन सिफारिस गरिएको थियो ।

घटनामा संलग्न तीन जनालाई जिल्ला प्रहरी परिसर, ललितपुरले थुनामा राखी अनुसन्धान गरिरहेको छ । प्रहरीको भूमिकाबारे डिएसपी नरहरि अधिकारीको नेतृत्वमा छानबिन भइरहेको छ । छानबिन प्रतिवेदनका आधारमा इन्स्पेक्टरलाई प्रतिवादी बनाउने–नबनाउने तय हुने ललितपुर परिसरले जनाएको छ ।

३० लाख असुलिएको घटनामा प्रहरीले थप एक महिलालाई पक्राउ गरेको छ । इटहरीकी भिमादेवी थापा बिहीबार पक्राउ परेकी हुन् । प्रहरीले यसअघि सुष्मा विक र ताज इस्लामलाई पक्राउ गरेको थियो । बिनुकुमारीलाई कार्यस्थलमा रहँदा यसअघि पनि विवादमा पर्दै आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्