उद्धार, राहत र पुनर्स्थापनामा जुट्न कार्यकर्ताहरूलाई शेरधन राईको आव्हान


विराटनगर । बाढी पहिरो तथा डुबानजन्य विपद्लाई मध्यनजर गर्दै उद्धार, राहत र पुनर्स्थापनामा जुट्न कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले कार्यकर्ताहरूलाई आव्हान गर्नुभएको छ । नेकपा एमाले कोशी प्रदेश कमिटी इन्चार्ज समेत रहनु भएका राईले कोशी प्रदेशका सबै जिल्ला कमिटी तथा नेता कार्यकर्ताहरूलाई यस्तो आव्हान गर्नुभएको हो ।

आज एक विज्ञप्ति जारी गर्दै नेता राईले जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन समेत आग्रह गर्नुभयो । प्रदेशका विभिन्न स्थानमा भएको जनधनको क्षतिले आफूलाई दुखी तुल्याएको उल्लेख गर्दै उहाँले घाइतेहरूको उपचार र बेपत्ताहरूको तीव्र खोजी गर्न सङ्घीय सरकार र प्रदेश सरकारको ध्यानाकर्षण समेत गराउनुभएको छ ।

उहाँले भन्नुभयो घाइतेको उद्धार, उपचार तथा मृतकका परिवारहरूलाई राहत तथा पुनस्थापनाका लागि स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारलाई समेत गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । नेता राईले सडक तथा पुलहरू बाढीले बगाएको भन्दै उहाँले तत्काल पुन निर्माण गर्न समेत ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्