चालक पत्नीको उपचारमा सङ्गठनको सहयोग


काठमाण्डौं । ट्याक्सी चालक अमर सुनुवारकी क्यान्सर पीडित श्रीमती लक्ष्मी सुनुवारको उपचारका लागि नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन एयरपोर्ट मिटर ट्याक्सी इकाई कमिटीले १ लाख ६० हजार ५ सय ६५ रुपैयाँ सहयोग गरेको छ । शुक्रवार सङ्गठनको कार्यालय एयरपोर्टमा एक कार्यक्रमको आयोजना गरी चालक अमर सुनुवारलाई उक्त रकम हस्तान्तरण गरिएको हो । बा २ ज १९२३ का ट्याक्सी चालक सुनुवार नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन एयरपोर्ट ट्याक्सी इकाईका सदस्य हुन् ।

उनकी श्रीमतीलाई करिब ५ महिनादेखि छाती (ब्रेस्ट) मा क्यान्सर देखिएको थियो । सुनुवारलाई सङ्गठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले रकम हस्तान्तरण गर्नुभयो । हाल लक्ष्मीको भक्तपुरस्थित क्यान्सर अस्पतालमा उपचार भइरहेको छ। वहाँको उपचारमा सहयोग गर्न सङ्गठनले अभियान सञ्चालन गरिएपछि एयरपोर्टमा काम गर्ने ट्याक्सी चालकहरूको सहयोगमा उक्त परिणामको रकम सङ्कलन गरिएको हो । सहयोग रकम ग्रहण गर्दै अमर सुनुवारले आफ्नो परिवार नै सङ्गठन भएको महसुस भएको बताउनुहुँदै सहयोगका लागि धन्यवाद दिनुभएको छ । उपचारका लागि थप सहयोग चाहिए सङ्गठन तयार रहेको सङ्गठनका इकाई अध्यक्ष दिलबहादुर शाक्यले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्