सडक, खानेपानी र जनसरोकार विषयमा मन्त्रीलाई ध्यानाकर्षण


काठमाण्डौं । धरानसँग सम्बन्धित भौतिक पूर्वाधार, सडक , खानेपानी, विपद् र जनसरोकार लगायतका विषयमा सुनसरी निर्वाचन क्षेत्र नम्बर एकका जनप्रतिनिधि सहितको टोलीले मन्त्रालयहरूको ध्यानाकर्षण गराएको छ । मङ्गलवार सिंहदरबार स्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी र खानेपानी मन्त्री प्रदीप यादवलाई भेटेर धरानको तत्कालीन र दीर्घकालीन समस्या समाधान र विकासका बारेमा ध्यानाकर्षण गराइएको हो ।

भौतिक पूर्वाधार मन्त्रीसँग गत भदौ १३ र १७ को भीषण वर्षाका कारण कोशी राजमार्ग र धरानका वडा नम्बर १३ लाई पु¥याएको भौतिक पूर्वाधारको क्षतिको पुनर्निर्माण, मदन भण्डारी राजमार्ग अन्तर्गत धरान ८ स्थित तीनढ्वाँगेको भत्किएको पुल र सडक चाँडो निर्माण राजमार्गमा पर्ने बनसँगको कटान आदेश चाँडै गरेर काम सम्पन्न गर्नुपर्ने, धरानको सर्दु खोलादेखि वराहक्षेत्रको झन्डा चोकसम्मको बाटोका लागि वातावरण प्रभाव मूल्याङ्कन चाँडो गरी निर्माण प्रक्रियामा लानु पर्ने, कोशी राजमार्गको निशानेमा गएको पहिरो, सारंगाको सडक भासिएकाले तत्काल निर्माण सम्पन्न गर्नुपर्ने, विभिन्न स्थानहरूमा बाढीले क्षति पु¥याएको कल्भर्ट पुन निर्माण गर्नु पर्ने, धरान इटहरी सडक खण्डको सेउतीखोलाको पुल तत्काल निर्माण सम्पन्न गर्दै सेउती तरहरा सडक खण्डको ५.३ किलोमिटर दुवै तर्फी सडक चाँडै सम्पन्न गर्न मन्त्री दाहाललाई ध्यानाकर्षण गराएको छ ।

धरानबाट काठमाण्डौं आएको टोलीमा प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री अशोक राई, प्रतिनिधिसभा सदस्य सुशीला श्रेष्ठ, कोशी प्रदेशसभा सदस्यहरू विजय राई र रमेश बस्नेत, धरान वडा नम्बर १३ का अध्यक्ष नेत्रप्रसाद काफ्ले, नेकपा (एमाले) कोशी प्रदेश सदस्य तथा मजदुर नेता भीम ज्वाला राई, धरान १३ जग्गा फुकुवा तथा सिमाङ्कन पहल समितिका संयोजक हरि कार्की, धरान १३ का स्थानीय समाजसेवी टिका राई र जसपा नेता भीम राई रहनुभएको छ । मन्त्री दाहालले टोलीसँगै सडक विभागका कार्यकारी निर्देशक रामहरि पोखरेललाई समेत राखेर समग्र योजनाको टिप्पणी गर्न लगाई कामलाई प्राथमिकताका आधार प्रारम्भ गर्न निर्देशन दिनुभएको थियो । कोशी राजमार्ग र मदन भण्डारी राजमार्ग सरकारको पहिलो प्राथमिकतामा रहेको र सहरी क्षेत्र र खहरेले पारेको असरका बारेमा प्रदेश र स्थानीय सरकारसँग सङ्घ सरकारले समन्वय गर्ने बताउनुभयो ।

त्यस्तै सर्दु जलाधार जग्गा संरक्षणका नाममा मिति २०७८ साल पुस १५ गतेदेखि रोक्का गरिएको जग्गाको ४ सय ७ बिघा जग्गाभित्र परेका साबिक बाँझगरा ९ (क) र साबिक घोपा ७ (घ) र (ङ) को जग्गा फुकुवा गर्न पहल गरिदिन भूमि व्यवस्था मन्त्री बलराम अधिकारीलाई टोलीकातर्फबाट आग्रह गरिएको छ । धरान १३ नम्बर वडावासीको निजी जग्गा समेत जलाधारका नाममा रोक्का गरिँदा करिब ३ हजार घरपरिवार समस्यामा परेको कुरा पहल समितिका संयोजक हरि किर्किले मन्त्री अधिकारीलाई जानकारी गराउँदै यसलाई फुकुवा गरिदिन आग्रह गरिएको थियो । प्रतिनिधिमण्डलको आग्रहपछि मन्त्री अधिकारीले पुराना कानुनहरूका कारण जनताले पीडा खेप्नु परेको भन्दै यसलाई बिस्तारै समाधान गर्दै जाने बताउनुभएको थियो ।

त्यसै गरी गत भाद्रको वर्षाका कारण धरान १३ स्थित गौरामार्ग खानेपानी संरचनामा ४० लाख बराबरको क्षति भएको, धरान वडा नम्बर ४ को सेर्केदेखि शिवधारासम्मको २७ सय मिटर दुरीमा बिछ्याइएको ६३ एमएमको सम्पूर्ण पाइपहरू ध्वस्त बनाइएकोले तत्काल त्यसको मर्मतसम्भारका लागि खानेपानी मन्त्री प्रदीप यादवसँग टोलीले आग्रह गरेको थियो । मन्त्री यादवले क्षतिको सर्भे र लागत विवरणका आधारमा क्रमिक रूपमा कार्तिकसम्ममा मर्मत गरिने आश्वासन दिनुभयो । धरानबाट आएको टोलीले क्रमशः सिचाइ, उद्योग र धरानस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय व्यवस्थापनको विषयमा सम्बन्धित मन्त्रालयमा जाने तयारी रहेको नेता भीम ज्वाला राईले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्