मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति


काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई काठमाडौं जिल्ला अदालतले थुनामा राखेर अनुसन्धान गर्न तीन दिनको म्याद दिएको छ । प्रसाईँ साइबर अपराधको कसुरमा आइतबार दिउँसो पक्राउ परेका हुन् । प्रसाईँलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न नेपाल प्रहरीको साइबर ब्युरोले अनुमति मागेको थियो । जिल्ला अदालतका न्यायाधीश बालकृष्ण वाग्लेको इजलासले प्रसाईँलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको जिल्ला अदालत काठमाडौँका श्रेस्तेदार रामु शर्माले जानकारी दिए ।

असोज २ गते उनी विरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आइतबार दिउँसो प्रसाईँलाई भक्तपुरस्थित उनको निवासबाटै पक्राउ गरेको थियो । उनी विरुद्ध साइबर अपराधको कसुर गरेको भन्दै ब्युरोमा उजुरी परेको थियो । प्रसाईँ पक्राउ परेपछि उनका समर्थकले नाराबाजी गरेका थिए । त्यस क्रममा प्रसाईँका केही समर्थकलाई पनि पक्राउ गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य टीका सङ्ग्रौला (ज्वाला) लगायतका पीडित महिलाले प्रसाईँविरुद्ध ब्युरोमा जाहेरी दिएका थिए। सोही जाहेरीपछि अदालतको अनुमति लिएर प्रसाईँलाई प्रहरीले पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्