यौन विचलनको आरोप खेपेका क्याम्पस प्रमुखलाई उन्मुक्ति !


मिलन के राउत – उर्लाबारी । यौन विचलनको आरोप खेपेका एक जना क्याम्पस प्रमुखलाई सञ्चालक समितिको बैठकले उन्मुक्ति दिएको खुल्न आएको छ । उर्लाबारीका मेयर गङ्गाप्रसाद खरेलसहित क्याम्पस सञ्चालन समितिका केही सदस्यको असहमतिका बिच उर्लाबारी बहुमुखी क्याम्पसका प्रमुख खेमराज कार्कीले ‘क्लिन चिट’ पाएका हुन् ।

क्याम्पस प्रमुख कार्कीले चलाएको मोटरसाइकलबाट लडेर एक जना महिलाको मृत्यु भएपछि थप विषय चर्चामा आएको थियो । कार्कीले ती महिलासँग अनुचित सम्बन्ध राख्दै आएको र लापरबाही तरिकाले बाइक हाँकेकोले उनको मृत्यु हुन पुगेको भन्दै स्थानीयले आक्रोश व्यक्त गर्दै आएका छन् ।

यसै विषयलाई लिएर कार्कीलाई पदबाट हटाउने की राख्ने भन्ने विषयमा शुक्रवार क्याम्पस सञ्चालक समितिको बैठक बसेको थियो । बैठकमा सञ्चालक समितिका अधिकांश सदस्यले क्याम्पस प्रमुख कार्कीको बचाउ गरेका थिए । यद्यपि क्याम्पसका पदेन सदस्यसमेत रहेका मेयर खरेलले क्याम्पसको गरिमालाई उँचो राख्न पनि कार्कीलाई पदमुक्त गर्नुपर्ने अडान प्रस्तुत गरेपछि शुक्रवारको बैठक अनिर्णीत बनेको थियो ।

शनिवार बिहानै पुनः सञ्चालक समितिको बैठक राखी कार्कीलाई क्याम्पस प्रमुख पदमा निरन्तरता दिने निर्णय भएको सञ्चालक समिति सदस्य मुक्तिप्रकाश न्यौपानेले बताए । न्यौपानेका अनुसार सवारी दुर्घटनाबाट सफाइ पाइसकेपछि चौक र चिया पसलमा भएका हल्लालाई आधार बनाउनुको अर्थ नहुने भन्दै क्याम्पस प्रमुखलाई हटाउनुपर्ने कुनै कारण नभएको जिकिर गरे ।

समितिको बहुमत सदस्यले कार्कीलाई पदमा निरन्तरता दिने बुझेपछि मेयर खरेलसहित पाँच जना सदस्यले शनिवार बोलाइएको बैठक बहिस्कार गरेका थिए । उर्लाबारी क्याम्पस सञ्चालन समितिमा १९ जना सदस्य रहेका छन् । जसमा मेयर खरेलसहित समितिका उपाध्यक्ष विशाल आङदेम्बे, सदस्यहरू गजेन्द्र दंगाल, मिलन दाहाल, दिलु लिङदेन लावती र रमेश श्रेष्ठ ‘गुडविल’ले बैठक बहिस्कार गरेको बुझिएको छ ।

उर्लाबारी ४ घर भएका कार्कीले स्थानीय एक एकल महिलालाई मोटरसाइकलमा राखी ‘घुमाउन’ लगेका थिए । घरतर्फ फर्किने क्रममा कार्कीले हाँकेको मोटरसाइकल मोरङको कानेपोखरीमा दुर्घटनामा हुँदा त्यसमा सवार महिला गम्भीर घाइते बनेकी थिइन् । घाइते महिलाको तीन दिनपछि गत साउन ३२ गते उपचारका क्रममा मृत्युको थियो । क्याम्पस प्रमुख कार्कीले महिलालाई ‘गलत नियत’राखी घुमाउन लगेको तथा घटनाको तीन दिनसम्म बेखबर बनाइएको खुलासा भएको थियो ।

इटहरीबाट फर्किने क्रममा बाइकको पछाडि बसेकी महिला कानेपोखरीमा लडेकी थिइन् । उनलाई उपचारार्थ मंगलबारेस्थित मदन भण्डारी ट्रमा सेन्टर अस्पतालमा ल्याइएको थियो । मंगलबारेमा उपचार सम्भव नभएपछि अस्पतालले विराटनगरको न्युरो हस्पिटल लैजान सुझाएको थियो । तर, कार्कीले आफूखुसी विराट नसिंङ होम पुर्याएपछि उपचारमा भएको ‘ढिलासुस्ती’का कारण तीन दिनपछि महिलाको मृत्यु भएको पीडित पक्षको भनाई छ ।

सवारी दुर्घटनाको मुद्दा अन्तर्गत केही समय इलाका प्रहरी कार्यालय पथरीको थुनामा रहेका कार्कीले थुनामुक्त भएपछि क्याम्पस प्रमुख पदमा रहिरहन दौडधुप गरेका थिए । स्रोतका अनुसार क्याम्पस सञ्चालक समिति अध्यक्ष पुष्पलाल ढकालले उल्लेखित घटनालाई दुर्घटनाकै रूपमा लिनुपर्ने भन्दै कार्कीको बचाउ गर्दै आएका छन् ।

मेयर खरेलले शैक्षिक थलोको नेतृत्वमा रहने व्यक्ति उच्च नैतिक चरित्रवान् हुनुपर्ने भन्दै खेमराज कार्कीलाई क्याम्पस प्रमुखको जिम्मेवारीबाट हटाउनुपर्नेमा अडिग रहेका छन् । यसैबिच नेकपा एमालेका सङ्गठित सदस्य रहेका खेमराज कार्कीलाई एमाले उर्लाबारीले पार्टी सदस्यताबाट हटाएको विज्ञप्तिमार्फत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्