बेतना फाइनलमा : डाँडाबजारसँग भिडन्त निश्चित


तृस्ना कुलुङ्ग राई – बेलबारी । प्रथम बेतना कप फुटबल प्रतियोगिताको छैटौँ दिन अन्तिम सेमिफाइनलमा बेतना फुटबल क्लबले लेटाङ फुटबल क्लबलाई पराजित गरेको छ । बेलबारी वडा नं.४ स्थित बेतना खेल मैदानमा जारी प्रतियोगिताको छैटौँ दिन बेतनाले टाईब्रेकरमा ४–२ गोलको अन्तरले लेटाङलाई पराजित गरेको हो ।

खेलको १६ मिनेटमै लेटाङका खेलाडी जर्सी नं. ७ का दोर्जे तामाङले गोल गरेका थिए । उनले गोल गरेको २१ मिनेटको अन्तरमा जर्सी नं ११ का श्याम मुरमुरले गोल गरेका हुन् । त्यसपछिको खेल भने एकदमै आक्रामक रह्यो । दोस्रो हाफमा बेतनाका खेलाडी जर्सी नं. ११ का किरण लिम्बुले गोल गरेका थिए ।

लिम्बुले गोल गरेको २ मिनेटको अन्तरमै लेटाङका जर्सी नं. ९ का सञ्जय धिमालले गोल गरेका हुन् । लेटाङले ३ गोल गरेसँगै बेतनामा तनावको स्थिति सिर्जना भएको थियो । खेलको ५८ मिनेटमा बेतानाका खेलाडी जर्सी नं १० का रेजिन सुब्बाले गोल गर्न सफल भएका थिए ।

रेजिनले गोल गरेको ५ मिनेटमै जर्सी नं ३ का विक्रम धिमालले गोल गरेका हुन् । धिमालले गोल गरेपछि खेल बराबरीमा पुगेको थियो । बराबरीमा पुगेसँगै खेलको निर्णय टाईब्रेकरको माध्यमबाट भएको हो ।

लेटाङका खेलाडी जर्सी नं.७ का दोर्जे तामाङ, जर्सी नं.९ का सञ्जय धिमालले गोल गर्न सफल भएका थिए भने जर्सी नं.१३ का बिकूँ तामाङ र जर्सी नं.१६ का अनीश श्रेष्ठको प्रहार भने असफल रह्यो । बेतनाका खेलाडी जर्सी नं.१४ का अनीश लावती, जर्सी नं ५ का बबिन बोहोरा, जर्सी नं १२ का आयुस राई , जर्सी नं.१० का रेजिन सुब्बाले गोल गर्न सफल भएका थिए । र त्यही अग्रतामा बेतनाले फाइनलमा आफ्नो यात्रा सुनिश्चित गरेको छ ।

खेलको मेन अफ द म्याच बेतनाका गोलकिपर चरी लिम्बु घोषित भएका छन् । उनलाई कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली काँग्रेस मोरङ जिल्लाका सचिव ललित बहादुर श्रेष्ठद्वारा नगद पुरस्कार रु.२ हजार ५ सय प्रदान गरिएको छ । र फाइनल खेल डाँडाबजार र बेतना युनाइटेड क्लबबिच हुने आयोजकले जनाएका छन् ।

फोटो – सिसिर राई/अभिजित तामाङ

प्रतिक्रिया दिनुहोस्