संघीयतालाई बलियो बनाउँदै मुलुकलाई आर्थिक सम्वृद्धितर्फ लैजानु पर्छ : मुख्यमन्त्री हिक्मतकुमार कार्की


विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय पुँजीको विकास गर्दै सम्वृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पुरा गर्न सबै एकजुट हुनु पर्ने बताउनुभएको छ । आज कोशी प्रदेश सरकारले संविधान दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले संविधानको पूर्ण कार्यान्वयनबाट संघीयतालाई बलियो बनाउँदै मुलुकलाई आर्थिक सम्वृद्धितर्फ लैजानु पर्ने धारणा राख्नु भयो । उहाँले भन्नुभयो- ‘मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने दायित्व हाम्रो काँधमा आएको छ ।’

लामो संघर्षपछि संविधान सभाले विश्वकै उत्कृष्ट संविधान बनाएको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले भन्नुभयो – ‘नेपाली जनताको संघर्ष र बलिदानको माध्यमबाट बनेको यो नेपालको संविधान विश्वकै उत्कृष्ट संविधान हो । संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नका लागि संविधानको पूर्ण कार्यान्वयन आजको आवश्यकता हो ।’

उहाँले कतिपय सन्दर्भमा संविधानका केही विषयमा प्रश्नहरू उठ्ने गरेका चर्चा गर्दै त्यस्ता विषयहरू आम सहमति, सहकार्य र एकताको माध्यमबाट संविधानको मूलमर्मलाई जोगाएर टुङ्ग्याउनु पर्ने धारणा राख्नुभयो । प्रदेशलाई समृद्ध र बलियो बनाउनका लागि आवश्यक पहलकदमी लिँदै संघीय सरकारसँग समन्वय गरिरहेका उहाँले बताउनुभयो । देशका दुई ठुला राजनीतिक शक्तिहरूबिचको सहकार्यबाट पनि नागरिकहरूमा उत्साह छाएको मुख्यमन्त्री कार्कीले बताउनुभयो।

स्वच्छ, समुन्नत र सुखी प्रदेशवासीको दीर्घकालीन प्रादेशिक सोचलाई पूरा गर्ने सङ्कल्पका साथ कोशी प्रदेश सरकार अघि बढिरहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न,राष्ट्रको विकास निर्माण अभियानलाई तीव्रता दिन र राजनीतिक स्थिरता प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्