लेटाङ सेमिफाइनलमा : प्रथम बेतना कप फुटबल प्रतियोगिता (फोटो फिचर)


तृष्ना कुलुङ्ग राई – बेलबारी । प्रथम बेतना कप फुटबल प्रतियोगिताको दोस्रो दिन टाई-ब्रेकरमा दि बोइज लेटाङ फुटबल क्लबले पूर्वाञ्चल युनाइटेड फुटबल क्लबलाई पराजित गरेको छ । बेलबारी वडा नं. ४ मा स्थित बेतना खेल मैदानमा जारी प्रतियोगिताको दोस्रो दिन लेटाङले टाई ब्रेकरमा ४–३ गोलको अन्तरले पूर्वाञ्चललाई पराजित गरेको हो ।

खेल एकदमै रोमाञ्चक रहेको थियो । निर्धारित समयमा दुवै टिमबाट कुनै पनि गोल नभएपछि खेलको निर्णय टाई-ब्रेकरको माध्यमबाट भएको हो । पूर्वाञ्चलको तर्फबाट खेलाडी जर्सी नं. १० का नीरज परियार, जर्सी नं. ८ का हेमन लिम्बु, जर्सी नं. ११ का समीर तामाङले गोल गर्न सफल भए भने जर्सी नं. ३० का सन्देश श्रेष्ठ र जर्सी नं. ९ का सुदिप खड्काको प्रहार असफल भएको थियो ।

लेटाङका खेलाडी जर्सी नं. ३ का अभिषेक लिम्बु, जर्सी नं. ९ का सञ्जय धिमाल, जर्सी नं. ७ का सुशील राई, जर्सी नं. १० का रोमन भुजेलले गोल गर्न सफल भएका थिए भने जर्सी नं. २ का दोर्जे तामाङको प्रहार भने असफल भएको थियो । पूर्वाञ्चलले दुई गोल मिस गरेसँगै लेटाङले सेमिफाइनलमा आफ्नो ठाउँ सुनिश्चित गरेको छ ।

खेलको मेन अफ द म्याच लेटाङका गोलकिपर पनिजय गच्छदार घोषित भएका छन् । उनलाई कार्यक्रमका प्रमुख अतिथि महेन्द्र सुवेदीले नगद पुरस्कार रु.२ हजार ५ सय प्रदान गरेका छन् । आयोजकका अनुसार मङ्गलवार बेलबारी फुटबल क्लब र शान्तिनगर फुटबल क्लब बिच प्रतिस्पर्धा हुनेछ ।

फोटो – सिसिर राई/अभिजित तामाङ

 

प्रतिक्रिया दिनुहोस्