प्रमुख प्रशासकीय अधिकृतसहित १० जना भ्रष्टाचारी ठहर : विद्यालय भवन कागजमा मात्र निर्माण


काठमाडौं । सिरहाको नवराजपुर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतसहित १० जना भ्रष्टाचारी ठहरिएका छन् । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र सदस्य तेजनारायण सिंह राईको इजलासले भ्रष्टाचारी ठहर गरेको हो ।

आ.व. २०७७/०७८ मा गाउँपालिकाको वडा नम्बर–२ स्थित रामजानकी दलित आधारभूत विद्यालय मझौराको अपूरो कार्य पूरा गर्दा विद्यालय भवनको काम नै नगरी कार्यसम्पन्न प्रतिवेदन बनाएर भ्रष्टाचार गरेको भन्दै गत जेठ २८ मा अख्तियारले मुद्दा दायर गरेको थियो ।

झुट्टा मूल्याङ्कन गरी भुक्तानीको लागि स्वीकृत १४ लाख ५१ हजार ५५१ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको आरोप ठहर हुने फैसला भएको हो । फैसलामा कुसियैतसहित लेखापाल सोमप्रसाद आचार्य, इन्जिनियर कृष्णा साह र सव–इन्जिनियर सन्तोषकुमार यादवलाई बिगो बमोजिमको जरिवानासहित दामासाहीले दुई लाख सात हजार २६४ रुपैयाँ ४२ पैसा जरिवाना र तीन महिना कैद हुने फैसला भएको छ ।

यस्तै, नवराजपुर गाउँपालिकाका तत्कालीन अध्यक्ष विश्वमोहनप्रसाद यादव, उपाध्यक्ष शोभाकुमारी यादव, तत्कालीन योजना शाखा प्रमुख रमेशकुमार निधि, तत्कालीन जिन्सी प्रमुख सञ्जयप्रसाद यादव, वडा नं. ४ का वडा अध्यक्ष मदन यादव र वडा नं. ५ का तत्कालीन वडा अध्यक्ष मनोजकुमार यादव उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीनारायण मुखिया, कोषाध्यक्ष घुरनीदेवी मण्डल र सचिव रामभरोस मुखिया मलाहलाई पनि १४ लाख ५१ हजार ५५१ रुपैयाँ भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुर गरेकोले सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।

अख्तियारले वडा नम्बर–२ का तत्कालीन वडा अध्यक्ष खुशीलाल साहलाई हुँदै नभएको काम भएको भनी सिफारिस गरेकाले तीन महिना कैद र १० हजार जरिवाना हुने फैसला भएको छ । उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीनारायण मुखिया, कोषाध्यक्ष घुरनीदेवी मण्डल र सचिव रामभरोस मुखिया मलाहलाई भने नगरेको कामको भुक्तानी लिएबापत तीन महिना कैद सजाय तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्