उमन्स लीगका प्रथम भएमा खेलाडीलाई जनही १ लाख रुपैयाँ पुरस्कार दिने घोषणा


विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एन्फा नेशनल उमन्स लीग प्रतियोगितामा प्रथम भएमा खेलाडीलाई जनही १ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गर्नुभएको छ । बुधवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आगामी भदौ १६ गतेदेखि हुने राष्ट्रिय लीगमा भाग लिने महिला फुटबल खेलाडीलाई बिदाइ गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेश विजयी भएमा खेलाडीहरूलाई जनही न्यूनतम १ लाख रुपैयाँका दरले पुरस्कार दिने घोषणा गर्नुभएको छ ।

उहाँले खेलाडीहरूलाई हौसला प्रदान गर्नका लागि अन्य थप कार्यक्रम पनि ल्याइने बताउनुभयो । उहाँले प्रदेशको खेलकुदलाई बलियो बनाउने गरी नीतिगत र कानुनी व्यवस्था गर्ने तयार भइरहेको जानकारी दिनुभयो । मुख्यमन्त्री कार्कीले खेलकुदलाई देखाउन र चिनाउने गरी प्रदेशमा काम गर्ने जानकारी दिँदै खेलकुद परिषद्लाई बलियो बनाउने बताउनुभयो ।

उहाँले भन्नुभयो “हामी सबै हिसाबले प्रदेशमा खेलकुदलाई बलियो बनाउने गरी लागेका छौँ ।” खेलबाट पनि जीवन चल्ने वातावरण बनाउने गरी काम गर्ने प्रतिबद्धता मुख्यमन्त्री कार्कीले गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्