आगलागी पीडितलाई भेट्दै, विकास अनुगमन गर्दै मुख्यमन्त्री 


विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की आज (सोमबार) झापाको गौरिगंज ५ चिलहारा माझीटोलका आगलागी  पीडितहरूसँग भेटघाट गर्नुभएको छ । दुई दिनअघि सो टोलमा आगलागी भएको थियो ।

आगलागी पीडितहरूको बस्तीमा पुग्दै मुख्यमन्त्री कार्कीले उनीहरूलाई प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग गरिने बताउनुभयो । उहाँलाई पीडितहरूले आफ्ना समस्या र गुनासो राखेका थिए । माझीटोलका चार घरमा आगलागी हुँदा सम्पूर्ण रूपमा नष्ट भएको थियो ।

यसै गरी मुख्यमन्त्री कार्कीले हुलाकी मार्ग अन्तरगत रतुवा खोलामा निर्माणाधीन पुलको समेत अनुगमन गर्नुभएको छ । उहाँले निर्माण कम्पनीलाई छिटो पुल निर्माण गरेर सहज आवतजावत गर्ने वातावरण बनाउन निर्देशन दिनुभयो । केही दिन देखि त्यहाँ काम रोकिएको थियो ।

मुख्यमन्त्री कार्कीले सोमबार नै झापास्थित निर्वाचन क्षेत्र अन्तरगत जारी विभिन्न विकास निर्माणका योजनाहरूको अनुगमन गर्नुभयो । उहाँले सो क्षेत्रका पार्टी कार्यकर्ता र नागरिकहरूसँग पनि भेटघाट गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्