धिमाल जातिको अन्वेषणमा आधारित पुस्तक “राम्पुका दामा” सार्वजनिक


बेलबारी । धिमाल प्रथम जातिको अन्वेषण तथा अनुसन्धानमा आधारित पुस्तक ‘राम्पुका दामा’ को एक कार्यक्रमका बिच सार्वजनीकिकरण गरिएको छ । शुक्रवार बेलबारी नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रममा सो पुस्तक सार्वजनीकिकरण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथिहरूले पुस्तक सार्वजनीकिकरण गरेका थिए । बेलबारी नगरपालिकाको बसोबास रहेको प्रथम धिमाल जातिको अन्वेषण तथा अनुसन्धानमा आधारित पुस्तकमा बेलबारी नगरपालिका भित्रका धिमाल टोलहरूको वस्तुगत अवस्था, स्थाननाम, ऐतिहासिक प्रमाण, जीवित संग्राहलय तथा होम स्टे सम्भावना लगायतको विषयमा खोजी गरेर पुस्तकमा समावेश गरिएको अनुसन्धाता अजित कुमार धिमालले बत्ताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि बेलबारी नगरपालिकाका नगर प्रमुख दिलप्रसाद राईले धिमाल समुदायले आफ्नो इतिहास आफैले लेख्न सुरुवात गरेकोमा बधाई दिँदै धिमाल समुदायको जीवित संग्राहलय निर्माणको आधार तयार भएको बताउनु भयो । धिमाल जातिको भाषा, संस्कृति संरक्षणका लागि आफै जागरूक हुनु पर्ने बताउनु हुँदै नगरपालिका प्रथम जातिको विकासमा सदैव साथमा रहने समेत बताउनु भयो । विशिष्ट अतिथि लेखक तथा पूर्व सांसद हर्कमान तामाङले पुस्तकको समीक्षा गर्नु भएको थियो ।

उहाँले राम्पुका दामा पुस्तक धिमाल जातिको अध्ययन, अनुसन्धान गर्ने व्यक्तिहरूको लागि महत्त्वपूर्ण सन्दर्भ सामग्री बनेको बताउनु भयो । त्यस्तै धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिका सह अध्यक्ष केदार धिमालले धिमाल जातिको महत्त्वपूर्ण तथ्याङ्क र ऐतिहासिक ज्ञानहरू पुस्तकमा संग्रहीत भएको बताउनु भयो । उहाँले अध्ययन र त्यसबाट प्राप्त ज्ञानले समुदायलाई अगाडि बढाउने भएकाले अध्ययनमा जोड दिन आग्रह गर्नु भयो ।

कार्यक्रममा समाजसेवी तथा राजनीतिक व्यक्तित्वहरू तिलक राई, प्रताप थापा, धिमाल जातीय विकास केन्द्र, राष्ट्रिय सभाका उपसभापति कवीन्द्रराज धिमाल, नेकपा (माओवादी केन्द्र) बेलबारी नगर समितिका उपाध्यक्ष मनकुमार गुरुङ, जातीय संस्थाहरूको तर्फबाट कमल गुरुङ लगायतले मन्तव्य राख्नु भएको थियो । त्यस्तै सोही कार्यक्रममा धिमाल जाति सम्बन्धी तयार गरिएको डकुमेन्ट्री समेत प्रमुख अतिथि दिलप्रसाद राईले भिडियो प्ले गरेर सार्वजनीकिकरण गर्नु भएको थियो । बेलबारी नगरपालिकाको सहयोगमा निर्मित डकुमेन्ट्री काेशी नेपाल मिडियाले निर्माण गरेको हो ।

कार्यक्रममा विभिन्न राजनीतिक दल, सामाजिक संस्था, जातीय संस्था तथा धिमाल अगुवाहरूको सहभागिता रहेको थियो । धिमाल प्रथम जाति व्यवस्थापन समितिका अध्यक्ष रुकमिणि धिमालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य धिमाल जातीय विकास केन्द्र, बेलबारी नगर समितिका अध्यक्ष शिवनाथ धिमालले राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्