विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जनताले देख्ने गरी काम गर्नको लागि सचिवहरूलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मङ्गलवार सबै मन्त्रालयका सचिवहरूलाई निर्देशन दिँदै मुख्यमन्त्री कार्कीले प्रदेशको आम्दानी बढ्ने र नागरिकले देख्नेगरिको काम गर्न निर्देशन गर्नुभयो ।
प्रदेश संरचनामाथिको आलोचनालाई कम गर्ने र प्रदेशका कामहरूलाई जनतामार्फत बढिभन्दा बढी पुर्याउनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री कार्कीले भन्नुभयो, ‘अब आलोचना कम हुनेगरि काम गर्नुहोस् ।’ आफू नेतृत्वको सरकार गठन भएको १०० दिन पुग्न लागेको अवसरमा प्रदेश सरकारले विभिन्न क्षेत्रसँग सुझाव सङ्कलन गर्नेगरि आयोजना गर्ने कार्यक्रम र प्रगतिका विषयमा सचिवहरूसँग छलफल गर्नुभएको थियो ।उहाँले राम्रा राम्रा कामहरूलाई यो अवसरमा सार्वजनिक गर्न आवश्यक तयारी गर्न निर्देशन दिनुभयो ।
प्रदेश सरकारको आगामी साउन ३२ गते १०० दिन पुग्दै छ । सो अवसरमा विराटनगरका उद्योगी, व्यवसायी, शैक्षिक क्षेत्रका अगुवा, पत्रकार तथा पेसागत क्षेत्रका व्यक्ति र विद्यालय तहमा अध्ययन गरिरहेका बालबालिकाहरूसँग मुख्यमन्त्रीले अन्तरक्रिया गर्नेगरि कार्यक्रम तय गरिएको छ ।
कार्यक्रमबाट प्रदेश सरकारलाई राय सुझाव आउने अपेक्षा गरिएको छ । त्यस्तै ३२ गते बेलुका ७ बजेदेखि ८ बजेसम्म नागरिकसँग फेसबुक पेजमार्फत लाइभ संवाद गर्ने तयारी मुख्यमन्त्रीको रहेको छ । सरकारले ३२ गते आफ्नो १०० दिनको उपलब्धि पत्रकारमार्फत सार्वजनिक गर्ने तयारी पनि गरेको छ ।