उर्लाबारी। उर्लाबारी ४ विशाल टोलका दृष्टिविहीन होमबहादुर बयलकोटी तथा अपाङ्गता भएकी एकल महिला दुर्गा सार्कीका आआफ्नै दुःखान्त छन् । अगरबत्ती, धूपलगायतका सामग्री डुलाउँदै बेचेर जीविकोपार्जन गर्दै आएका बयलकोटी श्रीमतीसहित घामपानी नछेलिने बाँसको टाटीको घरमा बस्दै आएका थिए ।
दुर्गा सार्की, बनिबुतो गर्ने श्रीमानसँगै दुई नाबालक छोरासँग कष्टसाध्य जिन्दगी गुजार्दै थिइन् । मौसम अनुसार घामपानी, हावाहुरी यी परिवारले हिउँद बर्खा खेपेका थिए । सार्की दम्पतीको त घरपनि के भन्नु र ! पुराना टिनको ओत लाग्ने नाम मात्रैको छाप्रो थियो । करिब सय मिटर दुरीमा दलित समुदायका यी परिवारको बसाइँ रहेको छ ।
गत वर्षको पुष २३ गते बयलकोटी परिवारको दयनीय अवस्था नियाल्नु भएका उर्लाबारी नगरपालिकाका मेयर गङ्गाप्रसाद खरेलले चैत २५ गते झन् विरक्तलाग्दो परिदृश्य देख्नुभयो । बाटोमै क्रियापुत्री बसेका थिए । विशाल टोलका चन्द्रबहादुर सार्कीको ४७ वर्षको अल्पायुमै निधन भएपछि उनकी अशक्त पत्नी दुर्गा र लालाबाला काजक्रियामा हेलिएका थिए ।
दुर्गा पक्षाघात (प्यारालाइसिस)ले सताइएकी छिन् । दुई छोरा नाबालक उमेर समूहका छन् । दैनिक जनमन गरेर जीविकोपार्जन गर्दै आएका परिवारका मुख्य व्यक्तिकै मृत्यु भएपछि दुर्गालाई बज्रपात परेको थियो । टिनले बारेर ‘टाउको लुकाउने’ छाप्रोमा बस्दै आएका मृतक चन्द्रबहादुरका श्रीमती र छोराहरूले छिमेकीको शरणमा रहेर जसोतसो काजक्रिया सके ।
मृतक परिवारमा समवेदना व्यक्त गर्न पुग्नुभएका उर्लाबारी नगरपालिकाका मेयर गङ्गाप्रसाद खरेलले तुरुन्तै सार्की परिवारको घर बनाइदिने बाचा गर्नुभयो । बाचालाई मूर्तरूप दिन मेयर खरेलले ‘विपन्न जनता आवास’ कार्यक्रमअन्तर्गत उल्लेखित दुई परिवारका अलावा अन्य वडामा एक–एक वटाका दरले दशवटा घर बनाइने निर्णय नगर कार्यपालिकाबाट पारित गराउनुभयो । कामले गति लियो । घर निर्माण सम्पन्न भई बुधवार एक कार्यक्रमका बिच सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको छ । दुई कोठा र एक किचनसहितको आवासहरू हस्तान्तरण गरिएको छ ।
उर्लाबारी नगरपालिकाले यसअघि उर्लाबारी ३ मा विष्णुमाया दर्जीलाई घर निर्माण गरी हस्तान्तरण गरिदिएको छ । बाँकी सात परिवारलाई क्रमशः घर उपलब्ध गराइने बताइएको छ । मेयर खरेल तथा उपमेयर मिना खतिवडा पौडेलले दुई घरको चाबी सम्बन्धित परिवारलाई हस्तान्तरण गर्नुभयो । आफ्नै दर्बिलो घर भएपछि अर्को जिन्दगीको सुरुवात भएको होमबहादुर बयलकोटीले बताउनुभयो । दुर्गा सार्की पनि दङ्ग पर्नुभयो । कार्यक्रममा बोल्दै मेयर खरेलले स्थानीय सरकार गरिब तथा विपन्न नागरिकको पक्षमा रहेको बताउनुभयो ।
घर नभएकालाई घर, शिक्षाको पहुँचमा नभएकालाई शिक्षा, स्वास्थ्य उपचारको पहुँच नभएकालाई स्वास्थ्य बिमालगायतका कार्य आफूहरूको मुख्य प्राथमिकतामा रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नगरपालिका सडक, ड्रेन, कल्भर्ट निर्माणमा मात्र होइन, जनताका आधारभूत आवश्यकता पूरा गर्न पनि प्रतिबद्ध रहेको छ ।’ पूर्वाधार विकाससँगसँगै सामाजिक विकासको पनि आवश्यकता रहेको उहाँले बताउनुभयो । विशाल टोल विकास संस्थाका अध्यक्ष रामप्रसाद तामाङको सभापतित्वमा भएको कार्यक्रममा कार्यपालिका सदस्य कृष्णमाया कडरियाले स्वागत मन्तव्य राख्नुभएको थियो भने वडा सदस्य शेखरनाथ दाहालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा वडा सदस्यहरू अमृता नेपाली, सुरेन्द्र न्यौपाने, वडाका विभिन्न टोल विकास संस्थाका अध्यक्षलगायत स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो । घर हस्तान्तरण गरिएको विपन्न दुर्गा सार्कीलाई वडाध्यक्ष कल्याणकुमार राई र टोल विकास संस्थाका अध्यक्ष रामप्रसाद तामाङले ग्यास सिलिन्डर र चुलो, व्यवसायी सुनिल बोहोराले किचनमा आवश्यक केही सामग्री प्रदान गर्नुभयो । कार्यक्रममा ४ नम्बर वडाका वडाध्यक्ष कल्याणकुमार राईले यस कार्यमा सहयोग पु¥याउने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।