कर्मचारीलाई अन्याय हुने छैन : मुख्यमन्त्री हिक्मतकुमार कार्की


विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कुनै पनि कर्मचारीलाई अन्याय नहुने गरी सरकारले काम गर्ने बताउनुभएको छ । बुधवार साँझ नेपाल निजामती कर्मचारी सङ्गठनले विराटनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले कर्मचारीको वृत्ति विकास र सन्तुलन कायम राख्ने गरी काम गर्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘सङ्घीय निजामती ऐन नआएका कारण प्रदेशमा निजामती ऐनलाई पूर्ण रूपमा कार्यान्वयन गर्न सकिएको छैन । जसले गर्दा हरेक पटक कर्मचारीका विषयमा समस्या आइरहेको छ ।’ मुख्यमन्त्री कार्कीले निजामती ऐन नआउँदा संघीयता कमजोर हुने खतरा रहेको औँल्याउँदै केन्द्रमा निजामती ऐन ल्याउनका लागि दबाब सिर्जना गर्नुपर्ने बताउनुभयो ।

संघीयतालाई कमजोर बनाउने प्रयास भइरहेको चर्चा गर्दै उहाँले प्रदेशलाई बलियो बनाउन कर्मचारीको साथ र सहयोग आवश्यक भएको बताउनुभयो । उहाँले भन्नुभयो ‘कर्मचारी स्थायी संरचना हुन्, तपाईँहरूले सहयोग गर्नुहोस्, यसलाई बलियो बनाएर लैजानुपर्छ ।’ प्रदेशका कर्मचारी सरुवा बढुवामा अन्याय हुन नदिने र कार्यालय प्रमुखको एक वर्ष र अन्य कर्मचारीको दुई वर्षमा सरुवा गर्ने नीति लिइने उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल निजामती कर्मचारी सङ्गठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाले केन्द्रमा निजामती ऐन नआउँदा प्रदेशमा फरक फरक ऐनहरू आएको र त्यसले फरक अवस्था सिर्जना गरेको बताउनुभयो । कर्मचारीमैत्री र ट्रेड युनियन अधिकार सुनिश्चित हुने गरी ऐन ल्याउने उहाँले आग्रह गर्नुभयो । सो अवसरमा नेपाल निजामती कर्मचारी सङ्गठनले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलगायत सबै मन्त्रीहरूलाई बधाई दिँदै कार्यकाल सफलताको कामना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्