कानुनी प्रक्रियानै पुरा नगरी सुनपकुवा विद्यालयका सामाग्री बिक्री


उर्लाबारी। उर्लाबारी नगरपालिका २ स्थित सुनपकुवा माध्यमिक विद्यालयमा अध्यक्ष र प्रधानाध्यापक मिलेर कानुनी प्रक्रिया नै पुरा नगरी एकलौटी रूपमा सामाग्री बिक्री गरेको खुलेको छ । विद्यालयमा रहेको पुराना कपी, किताब लगायतका स्टेशनरी सामाग्री विद्यालय व्यवस्थापन समितिमा निर्णय नै नगरी अध्यक्ष टिकाकुमारी भट्टराई (शिला) र प्रधानाध्यापक केशव खड्काले एकलौटी रूपमा बिक्री गरेको खुलेको हो ।

प्रचलित कानुन अनुसार सरकारी विद्यालयमा रहेका सामाग्रीहरू व्यवस्थापन समितिबाट बिक्रीका लागि निर्णय गरी न्यूनतम मूल्यको कोटेसन सूचना निकालेर बोलकबोलका आधारमा बिक्री गर्नुपर्ने हुन्छ । तर सो विद्यालयमा व्यवस्थापन समितिबाट निर्णय नै नगराई अध्यक्ष र प्रधानाध्यापकले एकलौटी रूपमा बिक्री गरेका हुन् । मङ्गलवार अपराह्न विद्यालयमा रहेका ती सामग्रीहरू बिक्री गरिएको खुलेको हो ।

अध्यक्ष र प्रधानाध्यापकले व्यवस्थापन समितिमा निर्णय नै नगरी आफूखुसी मूल्य बनाएर पुराना सामाग्री बिक्री गरेको भन्दै समितिका सदस्यहरूले आपत्ति जनाएका छन् । उर्लाबारी नगरपालिकाका नगर शिक्षा शाखा प्रमुख शालिग्राम काफ्लेले सरकारी सामाग्रीहरू समितिबाट निर्णय गरेर न्यूनतम मूल्य तोकी बिक्री गर्नुपर्ने प्रचलित कानुन रहेको बताएका छन् । यस विषयमा उजुरी परे नगरपालिकाले आवश्यक छानबिन गर्ने उनले बताएका छन् ।

शिक्षक प्रतिनिधिबाट विद्यालय व्यवस्थापन समिति सदस्य समेत रहेका लक्ष्मी दाहालले कुराकानीका क्रममा व्यवस्थापन समितिबाट भोली निर्णय गर्ने बताएका थिए भने अन्तिममा अस्ति नै निर्णय भइसकेको हो भन्दै गलत जवाफ दिएका छन् । प्रधानाध्यापक खड्काले व्यवस्थापन समितिबाट निर्णय नगराई बिक्री गर्नु गल्ती भएको स्वीकार गरेका छन् । अध्यक्ष भट्टराईसँग बुझ्न बुधवार दिनभर सम्पर्क गर्दा पनि फोन उठ्न सकेन । पछिल्लो समय विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष भट्टराई र प्रधानाध्यापक खड्काले व्यवस्थापन समितिका सदस्यहरूलाई वायस गर्दै बहुमतको आडमा एकलौटी रूपमा अघि बढ्दा विद्यालयको भविष्यमा नै समस्या आइरहेको अभिभावकहरूले गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्