एयर डाइनेस्टीको नाइन एन–ए.जे.डी हेलिकप्टर दुर्घटना : १ पाइलट, ४ चिनियाँ पर्यटकको मृत्यु


काठमाडौं । सौर्य एयरलाइन्सको ९ एन–एएमई जहाज दुर्घटना भएको २ हप्ताको अन्तरमा फेरी एक हेलिकप्टर दुर्घटनामा परेको छ । हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । सौर्य एयरलाइन्सको जहाज दुर्घटना १८ जनाको मृत्यु भएको थियो ।

एयर डाइनेस्टीका पाइलट अरुण मल्ल बुधवार दिउँसो १ बजेर ५४ मिनेटमा चार जना चिनियाँ पर्यटक बोकेर त्रिभुवन विमानस्थलबाट रसुवाका लागि उडेका थिए । त्रिभुवन विमानस्थलबाट उडेको तीन मिनेटमै मल्लले चलाएको एअर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको हो ।

नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक हंसराज पाण्डेका अनुसार एयर डाइनेस्टीको नाइन एन–ए.जे.डी कलसाइन हेलिकप्टर रसुवातर्फ जाने क्रममा दुर्घटनाग्रस्त भएको हो । उडेको ३ मिनेटमै सम्पर्कविहीन भएको हेलिकप्टर शिवपुरी गाउँपालिका–७ सूर्यचौर डाँडा र गुर्जेभन्ज्याङबीच (गुरुङगाउँको शिरान) मा दुर्घटना भएको हो । प्रत्यक्षदर्शीका अनुसार हेलिकोप्टर रुखमा ठोक्किएर आगो लाग्दै झरेको थियो ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवम् डिएसपी तिलक भारतीले दुर्घटना स्थलमा जलेको अवस्थामा पाइलटसहित पाँच जनाको शव भेटिएको पुष्टि गरे ।डिएसपी भारतीकाअनुसार हेलिकप्टरमा सवारमध्ये दुईजना पुरुष र दुई जना महिलाको शव भेटिएको छ । पाइलटको पनि शव घटनास्थलमा भेटिएको छ ।

एउटा शव चाहिँ धेरै जलेकाले पहिचानमा कठिनाइ भएको उनले बताए । दुर्घटनामा ज्यान गुमाएका चिनियाँ पर्यटकहरू तीन दिनअघि मात्रै नेपाल आएको पाइएको छ । साउन २१ गते सोमबार बिहान ९ बजे उनीहरू स्थलमार्ग हुँदै नेपाल प्रवेश गरेका थिए । चारै जना चिनियाँ पर्यटक (पुरुष) जुदाड टाङ, जिली, जेमिङ सी, (महिला) यियाद वु रसुवाको केरुङ नाका हुँदै नेपाल प्रवेश गरेका थिए । बहुप्रवेशसी भिसामा नेपाल आएका उनीहरूले तेस्रो दिनमै ज्यान गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्