नोबेल पुरस्कार विजेता मुहम्मद युनुस बङ्गलादेशको अन्तरिम सरकारको नेतृत्व सम्हाल्न तयार


काठमाडौं । नोबेल पुरस्कार विजेता मुहम्मद युनुस बङ्गलादेशको अन्तरिम सरकारको नेतृत्व सम्हाल्न तयार भएका छन् । युनुस हाल पेरिसमा रहेको रोयटर्सले जनाएको छ । बङ्गलादेशका सेना प्रमुख वाकेर–उज–जमानले आज (मङ्गलवार) आन्दोलनरत विद्यार्थीका नेताहरूसँग छलफलको तयारी गरेका छन् ।

सोमबार साँझ राष्ट्रपति मोहम्मद शाहबुद्दिनले विभिन्न नेताहरूसँग छलफल गरेका थिए । जसमा उनले अन्तरिम सरकार गठन गर्ने, नयाँ निर्वाचन घोषणा हुने र कर्फ्यु अन्त्यको घोषणा गरे । उनले विपक्षी नेता खालिदा जिया र आन्दोलनका क्रममा पक्राउ परेका सबै विद्यार्थीहरूलाई रिहा गर्न समेत आदेश दिएका छन् ।

प्रधानमन्त्री शेख हसिनाले सोमबार पदबाट राजीनामा दिएर देश छाडेसँगै त्यहाँ अन्तरिम सरकार बनाउने तयारी भइरहेको छ । १५ वर्षसम्म सत्ताको बागडोर सम्हालेकी हसिनाले राजीनामा दिएसँगै हिंसात्मक प्रदर्शनहरू रोकिएका छन् । मङ्गलवारदेखि नै ढाकाका विद्यालयहरू खुलेका छन् । तर विद्यार्थीको संख्या शून्य रहेको विभिन्न समाचार माध्यमले जनाएका छन् ।

त्यहाँका गार्मेन्ट उद्योगहरू पनि बन्द नै छन् । कहिलेदेखि सञ्चालनमा ल्याउने भन्नेबारे मङ्गलवार निर्णय गर्ने तयारी छ । आन्दोलनको नेतृत्व गरिरहेका विद्यार्थी नेताहरूले मङ्गलवार फेसबुकमार्फत एक भिडिओ सार्वजनिक गरेका छन् । उनीहरूले सेना नेतृत्वको सरकार नस्विकार्ने बताएका छन् ।

उनीहरूले अन्तरिम सरकार बनाउँदा बङ्गलादेशका नोबल पुरस्कार विजेता मोहम्मद युनुसलाई सहभागी गराउन माग गरेको बीबिसीले उल्लेख गरेको छ । ‘हामीले सिफारिस गरेको बाहेक अन्य कुनै पनि सरकार स्वीकार्य छैन,’ विद्यार्थी आन्दोलनको नेतृत्व गरेका नहिद इस्लामले भने, ‘सेनाको समर्थन रहेको वा सेना नेतृत्वको सरकार हामी स्वीकार गर्दैनौँ । हामीले मोहम्मद युनुससँग पनि कुराकानी गरेका थियौँ र उनले हाम्रो अनुरोध स्विकार्दै जिम्मेवारी लिन सहमत भएका छन् ।’

८४ वर्षीय युनुस र उनको ग्रामीण बैङ्कले सन् २००६ मा नोबल पुरस्कार जितेको थियो । लाखौँ जनतालाई १०० डलर भन्दा कम रकमको ऋण (लघुवित्त) उपलब्ध गराएर गरिबी रेखाबाट निकालेकोमा उनलाई पुरस्कृत गरिएको थियो । गत जुनमा उनी विरुद्ध रकम हिनामिनाको आरोपमा अदालतमा मुद्दा दर्ता भएको थियो । तर उनले उक्त आरोप अस्वीकार गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्