मिलन के राउत – उर्लाबारी । डेंगु सङ्क्रमणको जोखिम बढेपछि पथरीशनिश्चरे नगरपालिकाको १ नम्बर वडाले डेंगु रोकथामका लागि अभियान सञ्चालन गरेको छ । मुख्य बजार क्षेत्रसमेत समेटिएको १ नम्बर वडामा डेंगुको जोखिम हटाउन वडा कार्यालयले ‘खोज र नष्ट गर’अभियान सुरु गरेको हो ।
बजारको घना बस्तीमा डेंगुको संक्रमण बढ्दै गएकाले सतर्कताका लागि वडाले यो अभियान सुरु गरेको वडाध्यक्ष भीम राईले जानकारी दिनुभयो । पूर्वपश्चिम राजमार्गको करिब १ किलो मिटर लामो बजार क्षेत्रमा माइकिङ गरी जनचेतना जगाउँदै लामखुट्टेको लार्भा नष्ट अभियान थालनी गरिएको थियो । नाला सरसफाइ गर्नका साथै पसल तथा होटेलहरूमा रहेका सिसाका बोतल, खाली भाँडाहरू त्यतिकै नराख्न आग्रह गरिएको थियो ।
कार्यक्रममा डेङ्गु रोगका बारेमा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले प्रस्ट्याउनु भएको थियो । डेंगु नियन्त्रण गर्ने विषयमा नगरपालिका स्वास्थ्य शाखाले प्रतिकार्य योजना बनाई विभिन्न गतिविधि सञ्चालन गर्न निर्णय भएसँगै वडा कार्यालयको समन्वयमा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरेको आचार्यको भनाई छ । ‘डेंगु लाग्न नदिनु सबैभन्दा उत्तम उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिनु हो, प्रायः दिनको समयमा सक्रिय रहने एडिज जातको लामखुट्टेको टोकाइबाट यो रोग लाग्छ । यसबाट जोगिनका लागि कार्यालय समयमा पूरा बाहुला भएको पोशाक अनिवार्य गरिएको छ, स्वास्थ्य शाखा प्रमुख आचार्यले भन्नुभयो ।
यस अभियान कार्यान्वयनका लागि स्थानीय जनप्रतिनिधिको नेतृत्वमा स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, शिक्षक, पत्रकार, सङ्घसंस्था, टोल विकास समितिलाई परिचालन गरिएको छ । वडा नम्बर १ को आयोजनामा भएको डेंगु ‘खोज र नष्ट पार’ अभियानमा इप्रका पथरीका प्रहरी नायब उपरीक्षक मोहनविक्रम दाहाल, राजनीतिक दलका प्रतिनिधि, प्रहरी, ट्राफिक प्रहरी, नगर प्रहरी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीका साथै स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो ।