प्रदेशमा दिगो एवं गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन क्रियाशील छौँ : मुख्यमन्त्री कार्की 


विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा दिगो एवं गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन प्रदेश सरकार क्रियाशील रहेको बताउनु भएको छ । नेपाल चिकित्सक सङ्घ कोशी शाखाको बुधवार बेलुका विराटनगरमा  नवनिर्वाचित कार्य समितिका पदाधिकारीहरूको पदस्थापन समारोहमा बोल्दै उहाँले सरकार स्वास्थ्य क्षेत्र प्रति  संवेदनशील  रहेको बताउनुभयो  ।ग्रामीण तथा दुर्गम क्षेत्रका जनतालाई जनमुखी स्वास्थ्य सेवा सहज रूपमा प्रदान गर्ने उद्देश्यले यसपालिको नीति तथा कार्यक्रममा व्यवस्था गरिएको मुख्य मन्त्री कार्कीले बताउनु भयो ।
मुख्यमन्त्री कार्कीले सरकारले  जनताको घर–घरमा स्वास्थ्य सेवा पुर्‍याउनका लागि के कस्तो नीति आवश्यक पर्छ भन्ने उद्देश्यले चाँडै  कार्यदल गठन गर्ने जानकारी दिँदै यसका लागि आवश्यक सुझाव दिन  सङ्घलाई आग्रह गर्नुभयो । उहाँले सरकारी स्वास्थ्य संस्थाको जीर्ण रहेको भौतिक संरचनालाई बलियो बनाउने कार्य  सुरु गरेको जानकारी दिँदै यसै क्रममा विराटनगरमा सुविधा सम्पन्न आधुनिक प्रविधियुक्त प्रदेशस्तरीय प्रयोगशाला निर्माण गरी सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।
मुख्यमन्त्री कार्कीले सरकारले स्वास्थ्यकर्मीहरूको सुरक्षाको जिम्मा लिने बताउँदै समयमा  नै जानकारी प्राप्त भएमा  दोषीलाई कारबाही गरी समाजमा सकारात्मक  सन्देश प्रवाह  गर्ने विचार राख्नु भयो । चिकित्सकहरूले  भौतिक र आर्थिक सुरक्षाको कुरा उठाएपछि उहाँले स्रोत र साधन हेरेर सरकार अघि बढ्ने जानकारी दिँदै भौतिक सुरक्षामा भने कुनै कसर नराखी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । चिकित्सक संघ नेपालको पुरानो संस्था भएकाले यो सँगै सहकार्य गर्न  प्रदेश सरकार तयार रहेको बताउँदै उहाँले कोशी प्रदेशलाई स्वास्थ्यको हब बनाउन सकिने बताउनु भयो ।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले चिकित्सक विदेश पलायन रोक्न आवश्यक सेवा सुविधा स्वदेशमा उपलब्ध गराउनु पर्ने सुझाव दिनु भयो । सङ्घका केन्द्रीय अध्यक्ष अनिल विक्रम कार्कीले व्यवस्था परिवर्तन भए पनि चिकित्सकको अवस्था परिवर्तन नभएको गुनासो व्यक्त गर्नु भयो । मुख्यमन्त्री कार्कीले सङ्घका नव निर्वाचित अध्यक्ष डा राजेन्द्र चौधरी लगायत समितिका पदाधिकारीहरूलाई निर्वाचित प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्