साल्पासिलिछोमा बाढीले इर्खुवा हाइड्रोमा कार्यरत दुईजना कामदारलाई बगाएर बेपत्ता


भोजपुर । भोजपुरको साल्पासिलिछो गाउँपालिकामा इर्खुवा खोलाको बाढीले दुई जनालाई बगाएको छ । बाढीले इर्खुवा हाइड्रोमा कार्यरत दुई जना कामदारलाई बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

राति १ बजेतिर आएको बाढीले हाइड्रो निर्माणमा खटिएका दुई कामदार हराएको प्रहरी निरीक्षक दीपक श्रेष्ठले बताए । बेपत्ता हुनेमा बर्दियाको बारा बर्दिया गाउँपालिका–३ का २६ वर्षीय श्यामकुमार थारु र सोही ठाउँका ३० वर्षीय रमेश थारु रहेका छन् ।

यस्तै २६ वर्षीय राम किसन थारुको उद्धार गरिएको छ । उनको शरीरमा चोटपटक लागेको प्रहरीले जनाएको छ । अहिले स्वास्थ्य चौकी कुलुमा उपचार भइरहेको छ ।

प्रहरी चौकी चौकीडाँडाबाट करिब तीन किलोमिटर पश्चिममा घटनास्थलमा इलाका प्रहरी कार्यालय दिङलाबाट प्रहरी निरीक्षक कैलाशकुमार अधिकारीको कमाण्डमा चारजनाको टोली र सशस्त्र प्रहरीको अस्थायी बेसक्याम्प चौकीडाँडाबाट प्रयोजन घिमिरेको कमाण्डमा सातजनाको टोली खोजीको लागि खटिएको छ ।

प्रतिक्रिया दिनुहोस्