पोखरा । पोखरामा आज (सोमबार) बिहान स्कुल बस दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । अन्य २८ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीय आरती विक र उनका अन्दाजी पाँच वर्षीय छोरा प्रिन्स विक रहेका छन् । प्रिन्सको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो ।पोखराको एलपी देवकोटा मेमोरियल स्कुलको बस आज बिहान विद्यार्थी लिएर पोखरा–२१ रामदीबाट बिरौटा फर्कने क्रममा दुर्घटनामा परेको थियो । घाइते विद्यार्थी तथा चालकको उद्धार गरेर उपचारका लागि अस्पताल पठाइएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए ।
घाइतेमध्ये १४ जनाको गण्डकी मेडिकल कलेज पृथ्वीचोक, १२ जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र अन्य २ जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसको ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानको अनुमान रहेको छ । बस सडकको डिलबाट करिब ६० मिटर तल पल्टिएको थियो ।