लुम्बिनीमा सरकारको नेतृत्व र मन्त्री छनौटका विषयमा एमाले र काँग्रेसकाबिच विवाद


काठमाडौं । लुम्बिनीमा सरकारको नेतृत्व र मन्त्री छनौटका विषयमा सत्तारुढ नेकपा एमाले र नेपाली काँग्रेसका सांसदहरूबिच तीव्र विवाद बढेको छ ।

एमाले काँग्रेसको समर्थनमा सोमबार एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य मुख्यमन्त्री बनेका थिए भने बुधवार दुवै पार्टीबाट चार चार जना मन्त्रीले शपथ लिएका छन् । तर, सरकारको नेतृत्व र मन्त्री छनौटको विषयलाई लिएर अहिले दुवै पार्टीमा विवाद बढेको छ । दुवै पार्टीमा रहेका नेतापिच्छेका समूहले अर्को समूहलाई नेतृत्व र छनौटका विषयमा आलोचना गर्न थालेका छन् ।

विवादित पृष्ठभूमिका दुई सांसदलाई मन्त्री बनाएकोमा सर्वत्र विरोध भइरहेको छ । एक महिलाको शङ्कास्पद मृत्यु र जग्गा हडपिएको घटनाका मुख्य आरोपित बादशाह कुर्मी र गुण्डागर्दीको सजाय भोगेका रोज राणा भनिने सरोज थापा मन्त्री बनेपछि विरोध चुलिएको हो ।

उनीहरू दुवैलाई काँग्रेसले मन्त्रीमा सिफारिस गरेको हो । कुर्मीविरुद्ध नेपालगन्ज–१७ परस्पुरकी निर्मला कुर्मीको शङ्कास्पद मृत्यु प्रकरणमा संलग्न रहेको आरोप लाग्दै आएको छ । राजनीतिक आडमा बादशाहमाथि अनुसन्धान नगरिएको भन्दै बाँकेकी अधिकारकर्मी रुवी खानको अगुवाइमा आन्दोलन हुँदै आएको छ । गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले बादशाहमाथि अनुसन्धान गर्न सिफारिस गरेको थियो ।

यस्तै मन्त्रीमा नियुक्त भएका सरोज थापालाई गुन्डागर्दीको अभियोगमा प्रहरीले यसअघि पटक–पटक पक्राउ गरेको थियो । विवादित छवि र आपराधिक पृष्ठभूमिका व्यक्तिलाई मन्त्री बनाइएको भन्दै काँग्रेसभित्रै असन्तुष्टि बढेको छ ।
लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले आठजना मन्त्री नियुक्त गरेका हुन् । काँग्रेस र एमालेबाट चार–चार जना मन्त्री नियुक्त भए पनि उनीहरू विना विभागीय छन् । लुम्बिनीमा मन्त्रिपरिषद् गठनका विषयमा एमाले र काँग्रेसभित्र असन्तुष्टि देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्