सौर्य जहाज दुर्घटनाको छानबिन गर्न सरकारद्वारा आयोग गठन : भोलि राष्ट्रिय झण्डा आधा झुकाउने


काठमाडौं । सरकारले सौर्य एयरलाइन्सको जहाज दुर्घटना छानबिनका लागि रतीशचन्द्रलाल सुमन संयोजकत्वमा आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।

नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक सुमनको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरिएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । सदस्यमा नेपाल वायु सेवा निगमका क्याप्टेन दिपु ज्वारचन, पुल्चोक क्याम्पसका प्राध्यापक कुलदीप भट्टराई र सञ्जय अधिकारी रहेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका एयर ट्राफिक कन्ट्रोल अफिसर मुकेश डंगोल सदस्य सचिव छन् ।आयोगलाई ४५ दिन म्याद दिइएको छ ।

यस्तै, भोलि (बिहीबार) शोक मनाउन राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको पनि मन्त्री गुरुङले जानकारी दिए । बुधवार बिहान काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरको जहाज त्रिभुवन विमानस्थलमा दुर्घटना हुँदा १८ जनाको ज्यान गएको छ । दुर्घटनामा पाइलट गम्भीर घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्