एकै परिवारका तीन जनाको मृत्यु : सौर्य एयरलाइन्स जहाज दुर्घटना


काठमाडौँ । सौर्य एयरलाइन्सको आज (बुधवार) भएको जहाज दुर्घटनामा एकै परिवारका तीन जनाको ज्यान गएको छ । जहाजमा सवार मनुराज शर्मा, प्रिजा खतिवडा र अधिराज शर्माको मृत्यु भएको हो ।

मनुराज र प्रिजा श्रीमान्–श्रीमती हुन् भने अधिराज उनीहरूका छोरा हुन् । प्रिजाका बुबा प्रकाश खतिवडाले ज्वाइँ मनुराज प्राविधिक भएको बताए । उनले ज्वाइँ प्राविधिक भएको बताए पनि सौर्य एयरलाइन्सकै कर्मचारी भए–नभएको खुलाएनन् ।

तर, सौर्य एयरलाइन्सले भने उनीहरू सबै कर्मचारी भएको आफ्नो विवरणमा उल्लेख गरेको छ । परिवारका अनुसार प्रिजा ऊर्जा मन्त्रालयमा कार्यरत थिइन् । यस्तै अधिराज भने नाबालक हुन् । बुधवार बिहान काठमाडौँबाट पोखराका लागि उडेको जहाजमा सवार १९ जनामध्ये १८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्न बित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटनाग्रस्त भएको प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । जहाज उड्ने बित्तिकै दाहिनेतिर मोडिन गई धावनमार्गको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले उल्लेख गरेको छ ।

प्राधिकरणका अनुसार सीआरजे ७ (रजिस्ट्रेसन–९एनएएमई) जहाज बिहान ११ बजेर ११ मिनेट जाँदा काठमाडौँ विमानस्थलबाट पोखराका लागि उडेको थियो । दुर्घटनापछि जहाजमा आगो लागेको र सो क्रममा १८ जना यात्रुको मृत्यु भएको प्राधिकरणले जनाएको छ । यस्तै पाइलट मनिषरत्न शाक्य घाइते रहेको भन्दै प्राधिकरणले उपचारका लागि उनलाई काठमाडौँ मेडिकल कलेज पठाइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्