काठमाडौं । काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको ९ एन–एएमई जहाजमा १९ जना यात्रारत रहेको पाइएको छ । पछिल्लो विवरणअनुसार १८ जनाको शव निकालिएको छ । प्राविधिक प्रयोजन परीक्षणका लागि उडेको यो जहाज दुर्घटनामा परेको हो । जसमा सर्वसाधारण यात्रु थिएनन् ।
नागरिक उड्यन प्राधिकरण स्रोतका अनुसार विमानमा पाइलट मनिष शाक्य र को–पाइलट एस कटवाल रहेका थिए । त्यसै गरी जहाजमा अमितमान महर्जन, सागर आचार्य, दिलीप बर्मा, मनुराज शर्मा, अस्बिन निरौला, सुदिपलाल जोशी, सर्वेश मरासैनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिज्जा खतिवडा ,अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पून्यरत्न शाही र अर्का विदेशी नागरिक Aref Reda सवार रहेका थिए । चालकलाई उद्धार गरेर उपचारका लागि अस्पताल लगिएको छ ।
विमानमा सवार यात्रुको शव यत्रतत्र छरिएर रहेका अवस्थामा सङ्कलन गरिएको विमानस्थल सुरक्षार्थ खटिएका वरिष्ठ प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिए । उनले सङ्कलित ती शव अहिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लैजाने तयारी गरिएको बताए । सौर्य एयरको जहाज मर्मतका लागि कर्मचारी र प्राविधिक लिएर पोखरा जाँदै गरेको सौर्य एयरलाइन्स विमान दुर्घटनामा परेको हो ।
सौर्य एयरलाइन्सकै मर्मत सम्भारका इन्जिनियर तथा प्राविधिकहरूको टोली जहाजमा सवार रहेको बुझिएको छ ।
विमान चालक मनिष रत्न शाक्यको भने उद्धार गरिएको छ । उनको सिनामंगलस्थि केएमसी शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । शाक्य सन् २०१४ देखि सौर्य एयरलाइन्समा आबद्ध रहेका चालक हुन् ।