मन्त्रीहरूले खादा, माला र स्वागतमै समय बिताइरहेको छ : डा. शेखर कोइराला


काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. शेखर कोइरालाले काङ्ग्रेसबाट सरकारमा गएका मन्त्रीहरूले खादा, माला र स्वागतमै समय बिताइरहेको टिप्पणी गरेका छन् । आफूले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई काममा ध्यान दिन आग्रह गरेको उनको भनाइ छ ।

उनले सरकारलाई कुनै गल्ती गरेर असफल हुने छुट नरहेको बताए । उनले सरकारले जनतामा रहेको निराशालाई आशामा परिणत गर्न सक्नुपर्ने बताए । उनले राष्ट्रलाई प्राथमिकता राखेर जनतामा आशा जगाउँदै आर्थिक विकासमा फड्को मार्नुपर्ने बताए ।

सांसद कोइरालाले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन हुनुपर्ने, निर्वाचन प्रणालीमा संशोधन गर्नुपर्ने, समावेशीलाई कुनै आघात नपुग्ने गरी अघि बढ्नुपर्ने बताए । उनले संविधान संशोधन गर्दा सांसदभित्रका सबै राजनीतिक दलसँग सहमति गरेर नै अघि बढ्नुपर्ने बताए । दुई तिहाइ बहुमतको दम्भ गरेर संविधान संशोधन गर्न नहुने बताए ।

संविधान संशोधनको विपक्षमा रहेका राजनीतिक दलहरूले राम्रोसँग संविधानको अध्ययन नगरेको पनि आरोप लगाए । कोइरालाले संविधानमै हरेक १० वर्षमा संविधान संशोधन गर्नुपर्ने उल्लेख गरेको भन्दै कमी कमजोरीलाई सच्याउन आवश्यक रहेको बताए । उनले संविधान के-के कुरामा सुधार गर्ने भन्नेबारेमा भने छलफल गर्न आवश्यक रहेको बताए ।

उनले काँग्रेस र एमाले मिलेर बनेको सरकारको प्राथमिकतामा संविधान संशोधन, सुशासन र भ्रष्टाचार नियन्त्रण परेको भन्दै खुसी प्रकट गरे । उनले राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणालीमा संविधान संशोधन गर्न जरुरी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्