बागमती प्रदेशको मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता बहादुरसिं लामा नियुक्त


हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेस संसदीय दलका नेता बहादुरसिं लामा नियुक्त भएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ (२) अनुसार मंगलबार लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

लामाले आजै काँग्रेसका ३७ र नेकपा एमालेका २७ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । प्रदेश प्रमुख शर्माले आज मंगलबार ५ बजेभित्र संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार गठनका लागि आइतबार आह्वान गरेका थिए ।

नुवाकोटका लामा बागमतीको पाँचौँ मुख्यमन्त्री हुन् । उनको भोलि बुधवार ११ बजे प्रदेश प्रमुख कार्यालयमा शपथ हुनेछ । लामाले भोलि नै काँग्रेसका ६ र एमालेका ६ मन्त्रीसहित १३ सदस्यीय मन्त्रीपरिषद्लाई एकै पटक पूर्णता दिने तयारी गरेको काँग्रेसका प्रमुख सचेतक गोविन्द लम्सालले जानकारी दिए । एमालेले ६ मन्त्रीको टुङ्गो लगाइसकेको छ भने काँग्रेसमा आकाङ्क्षी धेरै भएकाले मन्त्री छनोटमा कठिनाइ भएको जनाइएको छ । काँग्रेसका मन्त्रीहरूको नाम बुधवार बिहानसम्म टुङ्ग्याइ सक्ने लामाको सचिवालयले जानकारी दिएको छ ।

लामा मुख्यमन्त्री बनेसँगै नेपाली काँग्रेसले बागमती सरकारको पहिलो पटक नेतृत्व गर्ने अवसर पाएको छ । बागमतीको पहिलो कार्यकालमा एमालेबाट डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्य र नेकपा (एकीकृत समाजवादी) बाट राजेन्द्र पाण्डे तथा दोस्रो कार्यकालमा नेकपा माओवादी केन्द्रका शालिकराम जमरकट्टेल मुख्यमन्त्री बनेका थिए । जमरकट्टेलले ६ साउनमा प्रदेश सभालाई सम्बोधन गरेर राजीनामा दिएपछि नयाँ सत्ता समीकरणअनुसार सरकार गठनको प्रक्रिया सुरु भएको थियो ।

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यको शपथ तथा पदभार ग्रहण बुधवार हुने भएको छ । प्रदेश प्रमुख कार्यालयका प्रवक्ता धर्मा अर्याल बेलबासेका अनुसार बुधवार बिहान ८.३० बजे शपथ तथा पदभार ग्रहण कार्यक्रम तय गरिएको छ । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण हुने भएको हो ।

काँग्रेस र एमालेका ५६ सांसदको समर्थनमा एमाले संसदीय दलका उपनेता आचार्यलाई सोमबार मुख्यमन्त्री नियुक्त गरिएको हो । प्रदेश प्रमुख अमिक शेरचनले अर्घाखाँची क्षेत्र नं १ (१) बाट निर्वाचित आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । संसद्मा एमालेका २९ र काँग्रेसका २७ सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्