मालदिभ्समा अलपत्र परेका बेलबारी ६ का लोकबहादुरद्वारा उद्धारको गुहार

एजेन्टको आश्वासन लोकबहादुरलाई नेपाल फर्काउने शुक्रवारको उडान


बेलबारी । मोरङको बेलबारी नगरपालिका वडा नं.६ निवासी लोकबहादुर पाण्डे मालदिभ्सबाट उद्धारको गुहार गरिरहेका छन् । वैदेशिक रोजगारको लागि मालदिभ्स पुगेका लोकबहादुर अलपत्र परेपछि उद्धारको पर्खाइमा छन् ।

लोकबहादुरले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गरी, बिरामी भई मरण अवस्थामा पुगेको जनाउँदै, नेपाल फर्काउन सहयोगको अपिल गरेका छन् । स्थानीय एजेन्ट मार्फत मालदिभ्स पुगेका लोकबहादुर ६ महिना देखी न काम गर्न पाएका छन्, न त बिरामी हुँदा उपचार नै ।

एजेन्टको आश्वासन अनुसारको काम नपाए पछि अलपत्र परेर बिरामी हुँदा पनि उपचार गर्न नपाएका लोकबहादुरको परिवार नेपालमा दैनिक पिडामा बस्नु परेको छ । अहिले आमा सावित्रा देवी पाण्डे र श्रीमती कुन्ती पाण्डे रुँदै लोकबहादुरलाई फर्काइदिन आग्रह गर्दै छिन । लोकबहादुरको वर्ष १२ को र वर्ष ३ को दुई छोरा छन् ।

लोकबहादुरको परिवारका अनुसार बेलबारी ६ का विरेन चौधरी, रंगेली नगरपालिकाका विक्रम राजवंशी, छत्र राजवंशी, सुनवर्षी नगरपालिकाका प्रलाद धिमाल लगायतको एक समूह मार्फत पाण्डे मालदिभ्स पुगेका हुन । उनी मालदिभ्स पुगेको ६ महिना भन्दा बढी भइसकेको छ ।

एजेन्टको आश्वासन लोकबहादुरलाई नेपाल शुक्रवार फर्काउने तयारी

विरेन चौधरीको छोरा सुशान्त कुमार चौधरी र विक्रम राजवंशी अहिले मालदिभ्समा नै छन् । तर दुवैबाट लोकबहादुरले आवश्यक सहयोग नपाएको परिवार बताउँछन् । परिवारको अनुसार काम नपाए पछि २ महिना अगाडी देखी नेपाल फर्काइदिन आग्रह गरेका थिए । जब लोकबहादुरको अवस्था नाजुक भयो बल्लतल्ल नेपाल फर्काउने तयारी गरेको परिवार बताउँछन् । विरेन चौधरीका अनुसार लोकबहादुरलाई नेपाल फर्काउने शुक्रवारको उडान रहेको छ ।

लोकबहादुरले मालदिभ्स जानलाई रु.३ लाख ३० हजार रकम बुझाएका थिए । विक्रमले उक्त रकम कहाँ–कहाँ के गर्न, कसरी बुझाए लोकबहादुरको परिवारलाई पनि थाहा छैन । नेपालबाट मालदिभ्स उडानको लागि इकोनोमी फेयर रु.३५ हजार देखी नै सुरु हुन्छ । व्यक्तिगत श्रम स्वीकृति लगायतमा केही खर्च लागे भए पनि अन्य रकम कहाँ खर्च भयो भन्ने स्वयम विक्रम पनि भन्न सक्दैनन् ।

फोन मार्फत विक्रमसँग हामीले कुराकानी गरेका थियौ । लोकबहादुरलाई चाडै नेपाल फर्काउने प्रतिबद्धता गर्दै शुक्रवारको उडान रहेको विक्रमले पनि जनाएका छन् । विक्रमको समूहलाई पनि परिचालन गर्ने एजेन्ट एक बंलादेशी नागरिक रहेको खुलेको छ । लोकबहादुरको पासपोर्ट केही महिना सोही बंलादेशी नागरिकले लुकाइदिएका थिए । सोही कारण पनि लोकबहादुरलाई नेपाल फर्काउने प्रक्रियामा ढिलाइ भएको परिवार बताउँछन् ।

पासपोर्ट किन लुकाएको थियो त्यो भने लोकबहादुरको परिवार र विरेन सबै अनविज्ञ रहेको बताउँछन् । जो मार्फत मालदिभ्स पुगेका थिए उनीहरूले भने अनुसारको काम नपाएको र पैसाको अभावमा खान पनि नपाएको पाण्डे बताउँछन् । पाण्डे बिरामीले थलिँदा समेत राम्रो औषधी उपचार पाएका छैन ।

विरेन र विक्रमले प्रतिबद्धता गरे अनुसार लोकबहादुर नेपाल फर्किए भने मात्र उनको परिवारले अनन्दको श्वास फेर्न पाउने छन् । लोकबहादुरको नफर्किएसम्म उनको परिवारले बाटो हेर्दै आँखामा आशु रसाउँदै दैनिक दिन र रात काटी रहने छन् ।

प्रतिक्रिया दिनुहोस्