चालकलाई ट्राफिक प्रहरीले हातपात गरेपछि यातायात मजदुरहरूद्वारा सडक अवरुद्ध


६ साउन २०८१, ललितपुर । गोदावरी लगनखेल रुटका चालक राजकुमार तिरुवालाई ट्राफिक प्रहरी सहायक हवलदार राजेश चौधरी र जवान अर्जुन राईले हातपात गरेपछि आक्रोशित यातायात मजदुरहरूले आइतबार साँझ सातदोबाटो चोकमै सबै सवारीसाधन राखेर चक्काजाम गरेका छन् । ललितपुरको लगनखेलबाट यात्रु सहित गोदावरी जाँदै गरेको बा २ ख २०७७ नम्बरको जम्बो हायस्का चालकलाई तिरुवालाई सहायक हवलदार राजेश चौधरीले कागजपत्र मागेका थिए ।

कागजपत्र ट्राफिक प्रहरी कार्यालयमै रहेकोले आफूसँग नभएको बताएपछि यात्रु सहितको गाडीलाई मुख्य सडकमै छेकेर चाबी खोसेका थिए । विवादकै क्रममा जवान अर्जुन राई समेत सडकमै गाडी छेकेर स्टेयरिङमै हातपात गरेको चालक तिरुवाले बताए । उनले भने बिहान पनि कागजपत्र नभएको भन्दै ट्राफिकले जरिवाना काट्न खोजेका थिए तर आफू हिँडेपछि पुन सडकमै रोकेर जरिवाना काट्न खोजेपछि आफूले नमानेकाले गाडीको चाबी नै खोसेर हातपात गरेको चालक तिरुवाले बताए । आफुलाई स्टेयरिङमै बक्सिङले हानेर लछारपछार गर्दै भुईँमा झारेपछि बुटले हानेको र गाडीको स्टेयरिङ नै भाचिनेगरी आक्रमण गरेको बताए ।

घटना लगतै नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन ललितपुर जिल्ला कमिटी र गोदावरी रुट इकाई कमिटीले सबै गाडीहरू सडकमै राखेर ट्राफिकको कुटपिट विरुद्ध नाराबाजी गर्दै सडक अवरुद्ध गरेका थिए । साँझ ५ बजेदेखि भएको सडक अवरुद्ध सवा आठ बजे मात्रै सुचारु भएको थियो । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई, उपाध्यक्ष नवराज घिमिरे र प्रदेश अध्यक्ष शंकर थापा, लगनेश्वर महादेव यातायात प्रालिका अध्यक्ष निरत्न नेवा, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका डिएसपी सुनिलजंग शाह, ट्राफिक प्रहरी कार्यालयका सातदोबाटोका प्रमुख इन्स्पेक्टर भूपेन्द्र गिरी र पीडित चालक सहितको छलफलमा सहमति भएपछि सडक अवरुद्ध सुचारु भएको थियो ।

भएको सहमतिहरू :-
१. चालकलाई आक्रमण गर्ने सहायक हवलदार चौधरी र जवान राईलाई विभागीय कारबाही गर्ने ।
२. क्षति पुगेको सवारीसाधनको मर्मत ट्राफिक कार्यालयले गरिदिने ।
३. घाइते चालकको उपचार ट्राफिक कार्यालयले गरिदिने ।
४. उक्त घटना र यसअघि ट्राफिक प्रहरी कार्यालयका तर्फबाट भएका गतिविधिहरूको अध्ययन गर्न सबै पक्ष सहभागी गराएर छानबिन समिति गठन गर्ने सहमति भएको छ।

प्रतिक्रिया दिनुहोस्