बेलबारीको जङ्गलमा भेटिएको वृद्ध जामुनलाललाई छोराबुहारीले छोडेका हुन त ? : वास्तविकता !

जामुनलाललाई विराटनगरको कोशी अस्पताल पठाइयो


बेलबारी । यस बेला बेलबारी नगरपालिकाको वडा नं.१ स्थित चिसाङ साझेदारी वन भित्र एक वृद्ध, बिरामी अवस्थामा भेटिएको र सो वृद्धलाई छोरा–बुहारीले जङ्गलमा छाडेको भन्ने समाचार तथा पोष्टहरु सामाजिक सञ्जालमा भाइरल नै भएको छ । सोही कारण पोष्ट तथा समाचार हेर्ने जोकोहीलाई जङ्गलमा आफ्नै बुवालाई मरन अवस्थामा छोड्ने निर्दयी छोराबुहारीको रहेछन् भन्ने प्रश्नसहित चासोको विषय बनेको छ ।

हजारौँको संख्यामा सामाजिक सञ्जालमा छोरा बुहारीलाई सक्ने सम्मको गालीगलौजको कमेन्ट ओइरिरहेको छ । सामाजिक सञ्जालमा जे पोष्ट गरिएको छ, सम्बन्धी समाचारमा जे देखेका छन् त्यही आधारलाई धारण बनाएर प्रतिक्रियाहरू आइरहेको छ । तर गाली गर्नेहरू वास्तविकताबाट अनविज्ञ छन् ।

उक्त वृद्ध सुन्दरहरैँचा नगरपालिका वडा नं.१ निवासी जामुनलाल ऋषिदेव हुन । उनको उमेर करिब ७५ वर्ष रहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । प्रहरीका अनुसार श्रवण १ गते व्यवारिसे अवस्थामा बेलबारी चिसाङ साझेदारी वन व्यवस्थापन समूह कार्यान्वयन इकाईका हेरालुहरूले जङ्गलको नियमित गस्ती गर्ने क्रममा भेटेका थिए । हेरालुका कमान्डर मुराली प्रसाद काफ्लेको नेतृत्वको टोलीले वृद्धलाई भेटेका हुन ।

गस्तीको क्रममा हाँगा भाँचिएको एक पिठारीको रुखमा छेउमा टुक्रुक्क बसिरहेको अवस्था भेटिएको काफ्ले बताउँछन् । काफ्लेका अनुसार झरीले भिजेको शरीरमा कमिला, जङ्गली किराहरूले घेरिनुको साथै हात खुट्टाहरूबाट खाऊ पिपहरू निस्की रहेको थियो । जामुनलाललाई पूर्वपश्चिम हाइवेदेखि सवारीसाधनबाट करिब ५ किलोमिटर साथै थप पैदल १.५ किलोमिटर हिँड्दा ६ं.५ किलोमिटरको दुरीमा जङ्गलको मध्यभागमा भेटिएको काफ्लेले बताउँछन् ।

काफ्लेका अनुसार जामुनलाल बोल्न नसक्ने अचेत अवस्थामा थिए । त्यस बेला उनलाई भेटिएको ठाउँदेखि केही पर सहज स्थानमा सारे पछि पानी खुवाएर सोधपुछ गर्दा एकोहोरो छोरा बुहारी मात्र भनिरहेका थिए । काफ्ले भन्छन्, ‘कहाँबाट आउनु भो भनेर सोध्यौ, बाइकमा भनेर प्रतिक्रिया दिनु भो, कोसँग आउनु भो भनेर सोध्दा, छोरा बुहारी छोरा बुहारी भन्नु भो । आफै एक्लै आएका हुन वा छोराबुहारीसँगै, त्यो थाहा पाएनौ, वहाँ एक्लै हुनुहुन्थ्यो ।’ काफ्लेका अनुसार त्यस वेला वरिपरि स्थानीयहरू पनि भेला भएका थिए । स्थानीयहरूले पनि सोही प्रश्नहरू गरेका थिए ।

अचेत अवस्थामा वृद्ध जामुनलालले दिएको प्रतिक्रियाको आधारमा छोराबुहारी प्रति शङ्का गरेर अहिले सामाजिक सञ्जालमा जामुनलालको तस्बिर राखी विभिन्न स्टाटस पोस्ट भइरहेको छ । बेलबारी चिसाङ साझेदारी वन व्यवस्थापन समूह कार्यान्वयन इकाईका अध्यक्ष दिनेश गिरी पनि वृद्ध जामुनलाललाई कसैले छाडेर गएको हुनु पर्ने दाबी गर्छन् । वृद्ध जामुनलाललाई करिब ४ दिन देखी जङ्गलमा छोडेको हुन सक्ने अनुमान गिरीको रहेको छ ।

सोही अनुसार विभिन्न सञ्चारमाध्यमले पनि समाचार सम्प्रेषण गरेको छ । समाचार र सामाजिक सञ्जालमा राखिएको स्टाटसमा छोराबुहारी प्रति अमानवीय चरित्र र निर्दयी भनी नकारात्मक प्रतिक्रियाको ओइरो नै लागेको छ ।

अस्वास्थ्य र वृद्ध अवस्थामा ६.५ किलोमिटर हिँडेर जङ्गलको मध्यभागमा कसरी पुगे भन्ने प्रश्नसँगै अचेत अवस्थामा नै जामुनलालले दिएको प्रतिक्रिया अनुसार छोराबुहारीले बाइर्कमा हालेर जङ्गलमा छोडेको हुन सक्ने शङ्का उत्पन्न भएको हो भन्ने प्रस्ट बुझ्न सकिन्छ । हेरालु कमान्डर काफ्लेका अनुसार जामुनलाल भेटिएको ठाउँमा बाइकको टायरको ढाप पनि थियो । ढाप हेर्दा पुराएर फर्किएको जस्तो देखिने काफ्ले अनुमान गर्छन् ।

(जल्वा ऋषिदेव)

तर जामुनलालको छोरालाई भेट्दा भने वास्तविकता फरक देखिन्छ । जामुनलालको जेठा छोरा करिब ५५ वर्षका छन् । उनको नाम जल्वा ऋषिदेव हो । जल्वा हाइड्रोशील बिरामीबाट पीडित छन् । उनलाई सहज गरी हिनडुल गर्न नै समस्या छ । कहिले कहीँ सक्ने ज्यालामजदुरी गर्छन्, नत्र मागेर जीवन चलाई रहेको सुन्दरहरैँचा नगरपालिका वडा नं.१ का अध्यक्ष राम विश्वास खवास बताउँछन् । जामुनलालको कान्छा छोरा दिनेश ऋषिदेव भारतको हरियानामा छन् ।

वडा अध्यक्ष खवास जामुनलाललाई छोरा बुहारीले जङ्गल लगेर छोडेको समाचार गलत सम्प्रेषण भएको बताउँछन् । खवास भन्छन्, ‘छोराले साइकल कुदाउन सक्दैनन् कसरी बाइक कुदाउँछ । कहिले मागी खादै हिड्छन, कहिले शौचालय सफा गरेर पेट पाल्छ । आफै बिरामी छ औषधी गर्ने पैसा पनि छैन ।’

जामुनलाललाई कसरी जङ्गल पुग्नु भयो भने प्रश्न गर्दा, आफै हिँडेर गएको भन्ने प्रतिक्रिया दिएको अध्यक्ष खवास बताउँछन् । सत्य तथ्य नबुझी सामाजिक सञ्जालमा लेख्ने र समाचार बनाउने कार्य प्रति अध्यक्ष खवासको गुनासो रहेको छ । निर्दोष बिरामी छोरालाई लालछना लाउनु गलत कार्य भएको खवास बताउँछन् ।

जल्वा आफै रोगबाट पीडित छन् । उनको शारीरिक अवस्थालाई हेरेर बुबालाई जङ्गलमा लगेर छोडेको भन्ने विश्वास गर्न गाह्रो छ । आर्थिक अभावको कारण जल्वाले आफै उपचार गर्न पाएका छैनन् ।

बुबालाई जङ्गलमा छोड्नु भो आरोप छ नी भनेर जल्वालाई प्रश्न गर्दा, उनी भगवान् पुकार्दै आफ्नो बुबालाई कसरी जङ्गल लगेर छोड्नु भन्ने प्रतिक्रिया दिन्छन् । जल्वाको कान्छा भाइ भारतमा छन् जल्वा आफै रोगबाट ग्रसित । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख नवराज कार्की पनि अनुसन्धानबाट छोराबुहारीले जामुनलाललाई जङ्गलमा लगेर छोडेको भन्ने खबर गलत भएको बताउँछन् ।

जामुनलाललाई विराटनगरको कोशी अस्पताल पठाइयो

जामुनलाललाई आज बुधवार सुन्दरहरैँचाबाट विराटनगरको कोशी अस्पताल पठाइएको छ । सुन्दरहरैँचा नगर अस्पतालको अनुसार दुवै मृगौलामा समस्याको कारण पिसाबमा खराबी देखिए पछि जामुनलाललाई उपचारको लागि विराटनगरको कोशी अस्पताल पठाइएको हो ।

बेलबारीमा जामुनलाल भेटिए पछि बेलबारी चिसाङ साझेदारी वन व्यवस्थापन समूह कार्यान्वयन इकाई, इलाका प्रहरी कार्यालय बेलबारी र बेलबारी नगरपालिकाको सहयोगमा प्रारम्भिक स्वास्थ्य उपचार गरी सुन्दरहरैँचा नगरपालिकाका प्रमुख केदार प्रसाद गुरागाईँको उपस्थितिमा उनलाई सुन्दरहरैँचाको नगर अस्पताल रिफर गरिएको थियो ।

जामुनलालको शरीरमा खाऊ नै खाऊ छ । शरीर सुकेर अनुहार ख्याउटे देखिन्छ । अझै स्पष्ट बोल्न सक्ने अवस्थामा छैनन् । हातखुट्टामा किराले खाएको घाउको चोटैचोट छ । सुन्दरहरैँचा नगरपालिकाको नगर अस्पतालका प्रमुख डाक्टर सरोज मण्डलका अनुसार चेकजाँच गर्दा, दुवै मृगौलामा समस्या देखिएको कारण जामुनलाललाई उपचारको लागि विराटनगरको कोशी अस्पताल पठाइएको छ । जामुनलाललाई लाग्ने उपचार खर्च सुन्दरहरैँचा नगरपालिकाले बेहोर्ने उपप्रमुख अकली चौधरीले जनाएकी छिन ।

 

 

प्रतिक्रिया दिनुहोस्