सरकारी कमजोरीले जनधनको क्षति : यातायात सम्बद्ध मजदुर सङ्गठनहरू आरोप


काठमाण्डौं । विपद् सम्भाव्यता बारे सरकारी तयारी कमजोर भएका कारण बाढी पहिरोमा परेर त्रिशूली नदीमा दुई वटा बस हराइरहेको र देशै भरी जनधनको क्षति भएको र उद्धार कार्यमा समेत सरकारले ढिलासुस्ती गरेको तीन वटा यातायात मजदुर सम्बद्ध सङ्गठनहरूले आरोप लगाएका छन् । लामो समय वर्षा हुने पूर्वानुमान पछि पनि सम्भावित विपद् बारे सरकारले व्यवस्थापनको तयारी नगरेकामा सरकारको आलोचना गरिएको हो।

सरकारको कार्यशैलीले यातायात मजदुर तथा आम नागरिक असुरक्षित बनेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ। शुक्रवार विज्ञप्ति जारी गर्दै शुक्रवार बिहान नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरोको ढुङ्गाले लागेर मृत्यु भएका बुटवल काठमाण्डौं बसका चालक मेघनाथ बिकको परिवारलाई राहत उपलब्ध गराउँदै, यात्रुहरूको ज्यान जोगाउने चालकलाई सरकारको तर्फबाट मरणोपरान्त विशेष सम्मान प्रदान गर्नु पर्ने अपिल गरेका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघले जारी गरेको विज्ञप्तिमा असार २८ गते बिहान करिब साढे ३ बजे मुग्लिन–नारायणगढ सडक खण्डको सिमलताल नजिक काठमाण्डौंबाट गौर जाँदै गरेको र विरगञ्जबाट काठमाण्डौं आउँदै गरेको दुई वटा यात्रु सहितका बसहरू पहिरोले बगाएर त्रिशूली नदीमा हराइरहेकाले बसमा सवार यातायात मजदुरहरू र यात्रुहरूको खोजीका लागि विशेष एक्सन र पीडित परिवारहरूलाई राहत प्याकेजको घोषणा गर्न माग गरिएको छ ।

सरकारले तत्काल “सडक सुरक्षा संयन्त्र” गठन गरी जोखिमयुक्त सडकहरूको मर्मत सम्भार, विपद्मा परेकालाई उद्धार, पीडितहरूको उपचार, जोखिमयुक्त सडक र स्थलहरूको पहिचान र व्यवस्थापनको काम गर्नुपर्ने उल्लेख छ । साथै वर्षाको सम्भावना रहेसम्म रात्रिकालीन यातायात सेवा सञ्चालन गर्न निश्चित समयसम्म रोक लगाउनुपर्ने र सडक तथा यातायात क्षेत्रको तत्कालीन तथा दीर्घकालीन समस्याहरूको निरूपणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत ट्रेड युनियन तथा अन्य सरोकारवालाहरू सम्मिलित स्थायी प्रकृतिको अधिकार सम्पन्न उच्चस्तरीय कमिटी गठनका लागि ऐनमै व्यवस्था गर्नु पर्ने उल्लेख छ ।

निरन्तर वर्षाका कारण बाढीसँगै आएको पहिरोले विभिन्न स्थानहरूमा सडक बगाएको छ, कतिपय स्थानहरूमा सडकलाई भत्काएको छ । जसले देशभरि दर्जनौँ रुटहरूमा यातायात अवरुद्ध भएको, मानवीय जीवन प्रभावित बनाएको, बाढी पहिरोका कारण गुग्लिन–नारायणगढ सडक अवरुद्ध बनेको छ, म्याग्दी र मुस्ताङलाई जोड्ने कालीगण्डकी कोरिडोरस्थित मालढुङ्गा–बेनी सडक अवरुद्ध भएको उल्लेख छ ।

त्यस्तै उदयपुरको गाईघाट–दिक्तेल सडक बन्दछ, मध्यपहाडी राजमार्ग ठप्प रहेको लमजुङको बेँसीसहर–चामे सडक र घोराही–तुलसीपुर सडक अवरुद्ध छ देशै भरी दर्जनौँ सडकहरू अवरुद्ध भएको पूर्वपश्चिम सडक निर्माणमा ढिलासुस्ती र वर्षाका कारण सप्तरीको कञ्चनपुरदेखि धनुषासम्मका सडकको यात्रा कष्टपूर्ण रहेको, नारायणगढ बुटवल सडकको अवस्था पीडादायी रहेको, मुग्लिन पोखरा सडकको यात्रा दुखदायी भएको र देशभरि दर्जनौँ राजमार्गहरू मृत्यु मार्ग जस्तै बनेको जनाइएको छ ।

विज्ञप्तिमा नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्ष भीमज्वाला राई, अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दीपक केसी र नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारीले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्