मञ्जु थापाको घर निर्माण कार्य अन्तिम चरणमा : भुईँ ढलाई कार्य सम्पन्न


बेलबारी । बेलबारी नगरपालिका वडा नं.३ सुन्दरशान्ति टोल निवासी एकल महिला मञ्जु थापाको घर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आज मङ्गलवार घरको भुईँ ढलाई कार्य सम्पन्न भएको छ ।

भुईँ ढलाई श्रमदानबाट भएको हो । भुईँ ढलाइमा संस्थागत तथा व्यक्तिगत रूपमा स्थानीयहरूले श्रमदान गरेका छन् । फोक्लेन टोल विकास संस्था, बिजुली मालपोत टोल विकास संस्थाका टोलवासी, नेकपा एमाले बेलबारीसहित अखिल नेपाल महिला संघ बेलबारी, खेलकुद महासंघ बेलबारी, अनेरास्वबियु बेलबारी साथै सुन्दरशान्ति टोलका स्थानीयले श्रमदान गरेका थिए ।

भुईँ ढलाइसँगै करिब १ महिनादेखि मञ्जुको घर निर्माण कार्यमा स्थानीयले निरन्तर आर्थिक सहयोग, निर्माण सामाग्री साथै श्रमदान गरिरहेका छन् । बेलबारी नगरपालिका, बेलबारी ३ वडा कार्यालय, युवा संघ नेपाल साथै स्थानीय युवाहरूबाट पनि निर्माण सामाग्री र आर्थिक सहयोग भएको मञ्जु घर निर्माण कार्यको नेतृत्व सम्हालिरहेकी विमला तामाङले जनाएकी छिन ।

घर निर्माण कार्यको आर्थिक जिम्मेवारी सम्हालिरहेकी शान्ति राईका अनुसार पूर्ण रूपमा निर्माण कार्य सम्पन्न भएपछि आर्थिक विवरण सार्वजनिक गर्ने बताएकी छिन । घरको ट्रस्ट डि.वि होलसेल आल्मुनियम, स्टिल एण्ड गृल बेलबारी २ ले १० प्रतिशत छुटसहित निर्माण कार्य सम्पन्न गरेको छ । आज भएको भुईँ ढलाइमा गृल पसलका सञ्चालकसहित कामदारहरूले श्रमदान गरेका छन् ।

घर निर्माणमा बेलबारीका स्थानीय वैदेशिक रोजगारमा भएका विभिन्न देशबाट पनि आर्थिक सहयोग गरेको विमलाले बताइन । विमला बेलबारी ३ का वडा सदस्य पनि हुन । मञ्जुको घरमा अब रङ्गरोगन र विद्युत् जडान कार्य बाकी रहेको छ । बाकी रहेको कार्य सम्पन्न पछि औपचारिक हस्तान्तरण कार्यक्रम गर्ने विमलाले जनाएकी छिन ।

प्रतिक्रिया दिनुहोस्